कञ्चनपुरमा विष्ट मृत्यु प्रकरणः हत्या भएको आशंका, दुई नियन्त्रणमा

  मङ्गलबार १५, फागुन २०८० १६:५९

कञ्चनपुर । कञ्चनपुरमा युवक मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ। नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान फेला परेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट सम्पर्कविहिन भएका थिए। उनी फेला नपरेपछि परिवारले खोजीकार्यका लागि प्रहरीमा उजुरी दिएका थिए।मंगलबार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको प्रहरीले बताएको छ। 

पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन्। त्यसअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन्।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेका छन्। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले विष्टको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

clock मङ्गलबार १५, फागुन २०८० १६:५९

प्रतिक्रिया