डाक्टर निरजलाई जिम्मेवारीबाट हटाउने निर्देशनको पत्र मन्त्रालयमा

  मङ्गलबार १५, फागुन २०८० ०७:३१

धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारी मुक्त गर्न निर्देशन दिदै सामाजिक विकास समितिले मन्त्रालयलाई पत्र पठाएको छ ।

प्रदेशका चार अस्पतालमा एकीकृत फोहर व्यवस्थापन प्रणाली जडान गर्न उपकरण खरिदका लागि आपुर्ति केन्द्रले अघि बढाएको प्रक्रिया नमिलेको भन्दै छानबिन गरिरहेको समितिले सामाजिक विकास मन्त्रालयलाई सोमबार उनलाई हटाउन पत्राचार गरेको हो ।

मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले पत्र प्राप्त भएको बताउँदै मन्त्री बाहिर भएकाले त्यसबारे अध्ययन र छलफल हुन बाँकी रहेको बताए । मन्त्री फर्किएपछि मात्र पत्रबारे छलफल अघि बढाइने उनी बताउँछन् ।

सामाजिक विकास समितिले आइतबार आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्यालमाथि एकीकृत फोहर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा छानबिन भइरहेको र अन्य विषयमा समेत पटकपटक विवादमा मुछिएका कारण जिम्मेवारी मुक्त गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

clock मङ्गलबार १५, फागुन २०८० ०७:३१

प्रतिक्रिया