टेलिकमको कबाडसहितका २ ट्रक कारबाहीका लागि राजस्व कार्यालय बाँके पठाइयो

  बिहिबार १०, फागुन २०८० ०७:०२

धनगढी । नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाडसहितका २ वटा ट्रक राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँके पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले फाइल अख्तियारमा र २ वटा ट्रकसहितको कबाड राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली प्रहरीलाई नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाले विक्री गरेको कबाडको अनुसन्धान गर्न निर्देशन दिएका थिए। तर, प्रहरीले फाइल अख्तियार र ट्रकसहितको कबाड राजस्व अनुसन्धान कार्यालय पठाएको छ। टेलिकमको अभिलेखको तौल र ट्रकमा रहेको कबाडको तौल फरक परेको पुस्टि भएपछि कारबाहीका लागि फाइल अख्तियारमा गएको हो भने ट्रकसहितको कबाड कोहलपुर पठाइएको हो।

टेलिकमले विक्री गरेको कबाड १५ हजार ६ सय ७९ किलोग्राम अभिलेखमा भनिएको छ। तर, दुई ट्रकमा २९ हजार एक सय ३० किलोग्राम फेला परेकाले राजस्व चुहावट भएको आशँका गरिएको छ। नेपाल टेलिकम दूरसञ्चार कार्यालय, अत्तरियाको गोदामबाट कबाड ढुवानी गर्ने ना ६ ख ४६० र रा १ ख ३२०६ नम्बरका ट्रकसहित तामाजन्य कबाड अनुसन्धानका लागि राजस्व अनुसन्धान, कार्यालय बाँके पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले ठेक्का प्रक्रियाको अनुसन्धानका लागि फाइल अख्तियारमा र राजस्वको विषयमा अनुसन्धान र कारबाहीका लागि ट्रकसहितको कबाड राजस्व अनुसन्धान कार्यालय, बाँके पठाइएको बताए। उनले भने, ‘फाइल अख्तियारमा गयो। सामान अनुसन्धानमा गएको छ। उहाँहरूले कारबाही गर्ने हो। उहाँसँग विज्ञ हुन्छन। अनुसन्धान र कारबाही समेत उहाँहरूले गर्ने हो।’ टेलिकमको अभिलेख भन्दा ट्रकमा झन्डै दोब्बर तौलको कबाड फेला परेको थियो।

बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो। तर, टेलिकमको अभिलेख भन्दा कम्पनीले ढुवानी थालेको कबाडको तौल धेरै भएपछि अनुसन्धान कारबाहीको प्रक्रिया थालिएको हो।

टेलिकमले प्रतिकिलोग्राम आठ सय ५० रुपैयाँ ८९ पैसामा कबाड विक्रीको सम्झौता गरेको थियो। निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा भएपछि कम्पनीले पुस ६ गतेबाट कबाड ढुवानी सुरु गरेको थियो।

नेपाल टेलिकमको धनगढी कार्यालयबाट २८ हजार ९७० किलोग्राम, भजनीबाट एक हजार ६३७ किलोग्राम, टीकापुरबाट १० हजार १४४ किलोग्राम र गेटाबाट १५ हजार ६७९ किलोग्राम गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद–विक्री भएको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौताअनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

clock बिहिबार १०, फागुन २०८० ०७:०२

प्रतिक्रिया