‘वधशाला’ बन्यो गाेदावरी स्थित भल्काको गौशाला, भेटिए सयभन्दा बढी गाईका कङ्काल

  मङ्गलबार ०८, फागुन २०८० १४:४१

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ भल्कामा गाईका कङ्काल फेला परेका छन्। लामो समयदेखि गौ–संरक्षणमा काम गर्दै आएका धनगढीका यस्पाल अवस्थीका अनुसार त्यहाँ गौशाला जस्तै बनाइएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेका हुन्।

उनका अनुसार स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जंगलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए। त्यहाँ खानापानी नपाएर तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने उनले बताए।

‘सूचना आएपछि म स्थलगत रुपमै हेर्न त्यहाँ पुगे। एकान्त जंगलको बीचमा रहेको त्यो ठाँउको अवस्था हेर्न नसकिने थियो। सयभन्दा बढी गाई मरेर कङ्काल मात्रै बाँकी थियो। धैरै जिँउदो गाईको अवस्था पनि नाजुक छ’ उनले भने, ‘स्थानीयले आफैं घेराबार बनाएर त्यहाँ गाई लगेर बाँध्ने गरेका रहेछन्। उनीहरुको दयनिय अवस्था देखेर मन पोलेको छ।’

वडा ९ का अध्यक्ष रामलाल रानाका अनुसार स्थानीयले आफैं केही रकम उठाएर घेरबार लगाएर कान्जी हाउस निर्माण गरेका थिए। त्यसका लागि केही हेरालु पनि राखिएका थिए। तर, भोकप्यास तथा उपचार नपाएर केही गाई मरेको उनले जानकारी दिए। ‘गाई मरेकोबारे खबर पाएपछि म त्यही आएको छु। अब अनुगमनपछि केही गर्न सकिन्छ कि हेरौं’ उनले भने।

उनका अनुसार बालीनाली सखाप पार्न थालेपछि स्थानीय आफैंले छाडा चौपायालाई उक्त स्थानमा लगेर थुन्ने गरेका थिए।

स्थानीय सरकारले छाडा चौपाया व्यवस्थापनका लागि बार्षिक बजेट खर्च गर्छ। तर पनि गौशालाको नाममा राष्ट्रिय जनावरको वध गर्ने अपराध भइरहेको आइ केयरयूका संरक्षणकर्मी विष्णु पनेरु बताउँछन्।

clock मङ्गलबार ०८, फागुन २०८० १४:४१

प्रतिक्रिया