कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढ्यो
कन्चनपुर । दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो । सो क्षेत्रमा जङ्गली हात्ती, चितुवा, बाघलगायतका वन्यजन्तुको ओहोरदोहोर भइरहने स्थानीयको भनाइ छ ।
वन्यजन्तुको पुरानो जैविक मार्गको रुपमा चिनिएको यो क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि मानिसको ज्यान जाने गरेको छ । गत वर्षमात्र बाघको आक्रमणमा परेर कञ्चनपुरको दक्षिणी क्षेत्रमा दुई जना महिलाले ज्यान गुमाएका थिए ।
अहिले पनि बेलौरी नगरपालिका –८ को खपटी खोलामा रहेको झाडी र सो आसपासको उखुमा बाघ वा चितुवा केही दिनदेखि घुमिरहेकाले स्थानीयमा त्रास बढेको वडा अध्यक्ष विषराम रानाले बताए । गतवर्ष सोही खपटी खोलामा घाँस काट्न गएको बेलामा बाघले एक महिलाको ज्यान लिएको थियो ।
भारतले खोलामा रहेको झाडी सफा गर्न नदिएका कारण त्यहाँ वन्यजन्तु आएर बस्ने गरेको वडा अध्यक्ष रानाको भनाइ छ । “अहिले देखा परेको जनावर बाघ वा चितुवा के हो यकिन भएको छैन । तर, पाइलाको छाप सानो देखिएका कारण चितुवा रहेको आशङ्का गरेका छौं” उनले भने ।
शुक्रबार साँझ खपटी खोलानजिक बेलडाँडी गाउँपालिका –३ खैरीघाटका २४ वर्षीय जीवन चन्दमाथि वन्यजन्तुले आक्रमण गरेको थियो । केही दिन अगाडि मात्र बेलौरी नगरपालिका –१० बन्दजलामा हिंस्रक वन्यजन्तुले हरिन मारेर शरीरको अन्य भाग खाइ टाउको र गर्दन छोडेको अस्थामा फेला परेको थियो ।
यसैबिच, पुनर्वास नगरपालिका –१० दोदापुल क्षेत्रमा कृषक पप्पु रानाले लगाएको उखु जङ्गली हात्तीको झुन्डले क्षति गरेको छ । दुधुवा नेशनलपार्कबाट लालझाडी संरक्षित वन क्षेत्रतर्फ जाने क्रममा हात्तीको बथानले नोक्सान गरेको सवडिभिजन वन कार्यालयका कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताए ।
प्रतिक्रिया