कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दिउँसै चितुवा देखिँदा बस्तीभर त्रास

  आइतबार ०६, फागुन २०८० ०७:३८

कञ्चनपुर । दक्षिणी क्षेत्र बेलौरीमा दिउँसै चितुवा देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । एक सातादेखि बस्ती र उखुबारीमा चितुवा देखिन थालेको हो । शुक्रबार साँझ बेलौरी नगरपालिका–८ खप्टी नालानजिकै मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्दमाथि आक्रमण नै भयो ।

आक्रमण गर्ने चितुवा हो वा बाघ उनले चिन्न सकेनन् । ‘एक्कासी हातमै झम्टेर पारि खेतमा झर्‍यो, म मोटरसाइकलबाट लडिहाले,’ चन्दले भने, ‘राति भएकाले फेरि झम्टेला भन्ने डरले हतार हतारमा बाइक उठाएर भागिहाले ।’

अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनी नियमित आउजाउ गर्छन् । उनको हातमा चिथोरेको घाउ छ भने ज्याकेट च्यातिएको छ । सोही क्षेत्रमा वैशाख दोस्रोसाता बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । उक्त बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ ।

खप्टी नाला क्षेत्रमा एक सातादेखि नियमित रूपमा चितुवा देखिँदै आएको सब(डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश यादवले बताए । उनका अनुसार स्थानीयले उखुबारीमा देखेपछि त्रास सृजना भएको छ ।

यसैगरी शुक्रबार साँझ भारतको दुधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले पुनर्वास नगरपालिकामा–१० विकासबस्ती र पचगडिया क्षेत्रमा उखु र गहुँबाली सखाप पारेको छ । ठूलो बथानमा आएका कारण बढी क्षति भएको यादवले बताए ।

clock आइतबार ०६, फागुन २०८० ०७:३८

प्रतिक्रिया