सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक

  शुक्रबार ०४, फागुन २०८० १८:१३

धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्री रमेशसिंह धामीले मन्त्रालयको नेतृत्व सम्हालेपछि एक वर्ष अवधिमा भएको कार्य प्रगति विवरण मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले नीतिगत तथा संस्थागत काम अन्तर्गत एक निर्वाचन एक उद्योग कार्यक्रम लागु गरेको छ ।

यस्तै, प्रत्येक जिल्लामा उद्योग विस्तार तथा दुना–टपरी, बेतबाँस, बेलजुस उत्पादन, ठेकी पारो निर्माण, नेपाली हाते कागज, विजय सालको भाँडा निर्माण, अल्लो तथा जुटको सामग्री निर्माण गर्ने उद्योग सम्वर्धन तथा प्रवर्धन गरिएको छ ।

मन्त्रालयले सामुदायिक वनको काठ सङ्कलन पहिलो संशोधन निर्देशिका २०८० पारित गरेको छ । वन क्षेत्रतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षा रोपण, सामुदायिक वन क्षेत्र हस्तान्तरण, अतिक्रमित क्षेत्रलाई खाली गराइ पुनः वन क्षेत्र कायम, कैलाली, कञ्चनपुर र बैतडीका तीन सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी, भू तथा जलाधार क्षेत्रतर्फ नदी किनार संरक्षण तथा तटबन्ध गरी खेतबारी संरक्षण गर्ने काम भएको जनाइएको छ । अव्यवस्थित तथा जीर्ण अवस्थामा रहेका पानीका मुहानको संरक्षण गरी शुद्ध खानेपानीको उपलब्धता, रिचार्ज पोखरी निर्माण गर्ने कार्य मन्त्रालयले गरेको छ ।

यस्तै, कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलामा होमस्टेको प्रवर्धन, व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन र पर्यटकीय क्षेत्रमा प्रवेशद्वार निर्माण गरेको जनाइएको छ ।

उद्योग तथा वाणिज्यतर्फ उद्यम स्थापना तथा सञ्चालनका लागि प्रविधि हस्तान्तरण, उद्योगीलाई विद्युत महसुल, बैङ्क ऋणमा अनुदान, उद्योगहरुको प्रवर्धनका लागि अनुदान प्रदान गर्ने काम भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

clock शुक्रबार ०४, फागुन २०८० १८:१३

प्रतिक्रिया