स्मार्ट सार्वजनिक शौचालय बनाउँदै धनगढी उपमहानगर

  शुक्रबार ०४, फागुन २०८० ०७:५५

धनगढी । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट (आधुनिक) शौचालयको सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको हो। 

उपमहानगरपालिका कार्यालयका अनुसार पहिलो चरणमा कार्यालय परिसर अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि स्मार्ट सार्वजनिक शौचालय निर्माणाधीन छन्। उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने– पहिलो चरणमा दुई स्थानमा निर्माण भइरहेका छन्।

विस्तारै अरु स्थानमा समेत निर्माण गर्ने योजना छ। धनगढीको मुख्य सडक हाल स्तरोन्नती भइरहेको छ। करिब डेढ लाख जनसंख्या रहेको र दिनभरी यात्रुहरूको निकै चाप हुने धनगढी उपमहानगरपालिकामा सार्वजनिक शौचालयको कमीका कारण निकै समस्या हुने गरेको छ।

डिभिजनल इन्जिनियर भट्टले भने– हामी व्यवस्थित सहर निर्माणको क्रममा छौ। सभ्य र सुन्दर सहरका लागि सार्वजनिक शौचालय अपरिहार्य भएकोले पहिलो चरणमा दुई वटा निर्माण गरिरहेका छौ। थप शौचालय निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ। उपमहानगरपालिका कार्यालय अगाडि निर्माणाधीन शौचालयको निर्माण कार्य करिब ५० प्रतिशत पुरा भइसकेको छ।

इन्जिनियर भट्टका अनुसार सो शौचालय निर्माणमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय अगाडि निर्माण भइरहेको सार्वजनिक शौचालयको लागत २३ लाख रुपैयाँ रहेको छ। जिल्ला प्रशासन अगाडि बुधवारदेखि निर्माण कार्य सुरु भएको छ।

स्मार्ट सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौचको सुविधा रहेको छ। शौचालयमा महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै कक्ष बनाइने छन्। स्मार्ट सार्वजनिक शौचालयमा सफाईका लागि पानी, ट्वाइलेट पेपर, स्प्रे, साबुन तथा विद्युतीय हिटरको समेत सुविधा रहने छ।

स्मार्ट शौचालयमा पानी धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिने छ। त्यस्तै, शौचपछि प्रयोग गरिने सामग्री व्यवस्थापनका लागि आधुनिक उपकरण समेत राखिने छ। डिभिजनल इन्जिनियर भट्टले भने– यो स्मार्ट सार्वजनिक शौचालय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालमैत्री हुनेछ। उपमहानगरपालिकाले सार्वजनिक शौचालय बाहिर पनि सरसफाई तथा स्वच्छ वातावरण बनाउन आवश्यक प्रबन्ध गर्ने समेत जनाएको छ।

clock शुक्रबार ०४, फागुन २०८० ०७:५५

प्रतिक्रिया