धनगढीकी शिक्षिकाको आत्माहत्या : विवाहित प्रेमीलाई ४ वर्ष जेल सजाय

  मङ्गलबार ०१, फागुन २०८० १५:३५

धनगढी । कैलालीमा शिक्षिकाको आत्माहत्या दुरुत्साहन मुद्दामा एक जनालाई चार वर्ष कैद सजाय सुनाइएको छ ।

धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए । उनकाअनुसार मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली स्थायी घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । उनी गत भदौँ ६ गते धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनी मार्मा गाउँपालिका–६ कै मामा नाता पर्ने जगदिश कोट्टारीसँग प्रेम सम्बन्धमा थिइन् । जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर अहिले आएर धोका दिएको भन्दै आत्माहत्याको बाटो रोजेको उनले लेखेको सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।

राजेश्वरीको मृत्युपछि भदौँमै उनका बुवा राजेन्द्रसिंह डडालले जिल्ला प्रहरी कार्यालय कैलालीमा जगदिशविरुद्ध छोरीलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दै आत्माहत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

clock मङ्गलबार ०१, फागुन २०८० १५:३५

प्रतिक्रिया