नदीजन्य पदार्थ संकलनमा धनगढी र गोदावरी बीच विवाद

  सोमबार २९, माघ २०८० ०९:०३

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका बीच खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउने विषयमा विवाद भएको छ । गोदावरीको वडा नम्बर ९ धनचौरीमा नदीजन्य पदार्थ उठाउने विषयमा दुवै नगरपालिका बीच विवाद भएको हो ।

गोदावरी नगरपालिकाले विगतका वर्षहरुमा आफूले नदीजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट धनगढीले नदीजन्य पदार्थ उठाउन थालेपछि विवाद भएको जनाएको छ । सो क्षेत्रमा विवाद भएपछि आइतबार गोदावरी नगरपालिकाका मेयर सहितको टोली सो क्षेत्रमा पुगेको थियो ।

तत्काल विवाद समाधान नभएसम्मका लागि सो क्षेत्रबाट नदीजन्य पदार्थ नउठाउँने गोदावरीका मेयर विरेन्द्र भट्टले बताए । उनले यसअघि नदीको पुर्व तिर धनगढीले र पश्चिम तिर गोदावरीले नदीजन्य पदार्थ उठाउँदै आएको भएपनि विवाद आएपछि प्राविधिक टोलीले अध्ययन गरेर समस्या सामाधान गरिने बताए । विवाद समाधानका लागि जिल्ला समन्वय समिति संग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल चौधरीले विवाद बढाउनुको सट्टा केही दिन उत्खनन बन्द गरी समस्या सामाधान गर्न लागिएको बताए । धनगढी उपमहानगरपालिका – १७ का वडाअध्यक्ष र आफू बसेर छलफल गरी अगाडि बढ्ने बताए ।

धनगढी उपमहानगरपालिका – १७ का वडाअध्यक्ष माधव राज रानाले भने जिपीएस नक्सामा धनगढी देखिएको क्षेत्रमा गोदावरीले नदीजन्य पदार्थ संकलन गरेपछि विवाद भएको बताए । उनले आइतबार गोदावरीका मेयर लगायतको टोलिसंग छलफल गरीएको र, सोमबार सम्म जिल्ला समन्वय समितिको टोलि आएर समस्याको सामाधान गर्ने सहमति भएको बताए ।

clock सोमबार २९, माघ २०८० ०९:०३

प्रतिक्रिया