कैलालीको वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना

  शनिबार २७, माघ २०८० ११:४७

धनगढी । कैलालीको कैलारी गाउँपालिका -६ वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना गरिएको छ । 

जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूह द्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत सङ्ग्रहालय स्थापना गरिएको हो । 

भवनसहित ९ लाखको लागतमा सङ्ग्रहालय सञ्चालनमा आएको जनाइएको छ । परियोजनाका सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्व कालमा मारिएको आफन्तजनहरूको स्मरणमा शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो । 
 
पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ । 

शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सङ्ग्रहालय उद्घाटन गरेका थिए । 

कार्यक्रममा प्रदेश सांसद खिमा देवी विष्टसहित कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडाध्यक्ष प्रेमबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

clock शनिबार २७, माघ २०८० ११:४७

प्रतिक्रिया