पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्दको नागरिक अभिनन्दन हुने

  बिहिबार २५, माघ २०८० १९:५२

धनगढी । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको नागरिक अभिनन्दन हुने भएको छ। पूराना राजनीतिज्ञ एवं मदन पुरस्कार विजेता चन्दको फागुन ३ गते धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो। 

बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै साहित्यकार चन्दको जनस्तरबाट नागरिक अभिनन्दन गरिन लागेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व प्रधानमन्त्री चन्दको ८४ वसन्त पूजनको अवसरमा धनगढीमा नागरिक अभिनन्दन गरिन लागेको हो। 

चन्दले नेपाली भाषा साहित्य र राष्ट्र सेवाका विविध क्षेत्रमा अविस्मरणीय योगदान गरेको कदर स्वरुप नागरिक अभिनन्दन गर्न खोजेको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले बताए।

सुदूरपश्चिमको बैतडी जिल्लाको सुर्नाया गाउँपालिकाको कुर्कुट्यामा जन्मेका चन्दले चार पटक नेपालको प्रधानमन्त्री भएर राष्ट्रलाई योगदान दिएका छन् भने साहित्यमा पनि एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित भएका छन्। 

नेपाली साहित्य र राजनीतिमार्फत गरेको योगदानको कदर गर्न, चन्दको व्यक्तित्व र कृतित्वलाई सम्मान गर्न, उनीसँग सम्बन्धित तथ्यहरू माथि प्रकाश पार्न र अग्रज स्रष्टाहरूको सम्मान गर्ने संस्कार विकास गर्न अभिनन्दन गर्न लागिएको आयोजकले बताएको छ।

नागरिक अभिनन्दनको दिन ३२० पृष्ठको नागरिक अभिनन्दन ग्रन्थ सार्वजनिक गरिने छ भने अभिनन्दन पश्चात् स्मारिका प्रकाशन गरिने मूल समारोह समितिका संयोजक भट्टले बताए। 

उनले धनगढीको पार्कमोडदेखि सौंराइ स्क्वायर पार्टी प्यालेस, चटकपुरसम्म रथारोहरण गरिने जनाए। नागरिक अभिनन्दनमा विभिन्न झाँकी प्रदर्शन र अभिनन्दन ग्रन्थ लोकार्पण गरिने कार्यक्रम तय भएको छ। अभिनन्दन समारोहमा सरिक हुन् आयोजकले सबैमा अनुरोध गरेको छ।

clock बिहिबार २५, माघ २०८० १९:५२

प्रतिक्रिया