चेलीबेटीलाई ‘त्यारमाणो’ दिन रोक्न रोकेन सुदूरपश्चिमेलीलाइ हिउँले

  बिहिबार २५, माघ २०८० ०६:४९

डोटी । डोटीको आदर्श गाउँपालिका– २ की ५६ वर्षीया मीना (नाम परिवर्तन) हतारमा थिइन् । लुगाले मुख छोएिको डोकोमा माणा (रोटी) बोकेर उनी आफ्नो नन्दको घर जाँदै थिइन् ।

आकाशमा बादल मडराइरहेको थियो । तर, मीनालाई आफू रुझ्ने भन्दा पनि नन्दका लागि पकाएका माणा झिज्ने चिन्ताले सताएको थियो ।

‘छाता ल्याउन बिर्सिएँ । पानी पर्ला कि जस्तो छ’, नन्दको घर आदर्श गाउँपालिका– १ बाँझ पुग्ने हतारोमा रहेकी उनी भन्छिन्, ‘त्यारमाणो भिज्यो भने राम्रो हुन्न भन्छन् ।’

पहिले आफ्नो बैनीलाई त्यारमाणो दिन मीनाका श्रीमान् जान्थे । श्रीमान् रोजगारीका लागि भारत गएपछि केही वर्ष उनका छोराले फुपूलाई त्यारमाणो पुर्‍याए । गत बैशाखमा छोरो पनि रोजगारीका लागि भारत गएपछि उनी आफैं नन्दलाई त्यारमाणो दिन हतारिएकी हुन् ।

‘पोरु (अस्ति) चेलीलाई दिइआयाँ, आज नन्दलाई दिन जान्छु’, डोटेली भाषामा मीनाले भनिन्, ‘अब दुई चेलीवेटीलाई दिन बाँकी छ ।’

माघमा त्यारमाणो नदिए चेलीबेटीको ऋण रहने मीनाको भनाइ छ । उनी कान्छो छोरा सानै भएका कारण त्यारमाणो दिन आफैं गएको बताउँछिन् ।

केआई सिंह गाउँपालिका– ५ की धर्मादेवी (नाम परिवर्तन) को हतारो पनि उस्तै छ । उनी बोगटान फुड्सिल गाउँपालिका– ५ फुड्सिल घर भएकी आफ्नी छोरीलाई त्यारमाणो दिन जाँदै गरेकी भेटिइन् । लेकको बाटो हिउँ पन्छाउँदै उनी त्यारमाणो दिन जाँदै थिइन् ।

धर्मासँगै अन्य तीन महिला पनि त्यारमाणोको भारी बोकेर चेलीबेटीको घरतर्फ जाँदै थिए ।

सुदूरपश्चिमका अधिकांश घरबाट माघमा छोरीबेटीलाई त्यारमाणो दिन जाने चलन छ । माघलाई धार्मिक महिनाका साथै चेलीबेटीको महिना मानिन्छ । त्यसैले चेलीबेटीलाई ग्वानी तथा दक्षिणा दिने चलन रहेको बताउँछन् केआईसिंह गाउँपालिका(४ का नरबहादुर कार्की । 

‘माघमा छोरीबेटीलाई ग्वानी दिए धर्म हुन्छ भन्ने मान्यता छ’, स्थानीय झिमेमालिका माविका प्रधानाध्यापक कार्की भन्छन्, ‘यही मान्यताअनुसार माघे सङ्क्रान्तिको दिन माइती घरमै रहेकी चेलीबेटीलाई बिहानै पूजा गरी माणो खान दिने र विवाह भएकी चेलीबेटीलाई सेल रोटी, भक्के रोटी, माणो दिने गरिन्छ ।’

उहिले चेलीबेटीहरुको सानै उमेरमा विवाह हुने, १४/१५ वर्षमा सन्तान जन्माउने र पारिवारिक झमेलाका कारण माइत आउन नसक्ने भएका कारण यस्तो चलन बसेको हुनसक्ने कार्कीको भनाइ छ ।

‘कुनै कुनै छोरीबेटीले त रातकी रतेउडी दिनकी दिउसेणी (रातदिन काम) गरे पनि पेटभरी खान पाउँदिन थिइन्’, कार्की थप्छन्, ‘त्यसकारण छोरीलाई एक छाक भए पनि माइतीघरको मीठो खानेकुरा दिने र भेटेर हाल खबर बुझ्न पनि त्यारमाणो दिने चलन चलेको हुनसक्छ ।’

अचेल त्यारमाणो दिने चलन लोप हुन लागेको बताउँछन् हिक्मतबहादुर शाही । ‘पहिले यसको धेरै महत्व थियो, माघको महिना दिदीबहिनी र फुपूहरुलाई त्यारमाणो दिन जानैपर्थ्यो’, पद्म पब्लिक मुक्तिनारायण माविका शिक्षक शाही भन्छन्, ‘तर, अचेल पहिले जस्तो महत्व देखिँदैन यसको ।’

विगत सम्झँदै शाही थप्छन्, ‘म पनि कैयौं पटक गएको छु फुपू र दिदीहरुलाई त्यारमाणो दिन । त्यसको अर्कै आनन्द हुन्थ्यो । तर, अचेल त्यसो छैन ।’

एकातिर चेलीबेटीहरुको हालखबर पनि थाहा हुने अर्कोतिर माघमा चेलीबेटीहरुलाई खाना खुवाए पुण्य हुन्छ भन्ने मान्यताले यो सुरु भएको हुनसक्ने शाहीको भनाइ छ ।

त्यारमाणो दिने चलन हराउँदै जानुलाई दुई तरिकाबाट हेर्न सकिने बताउँछिन् गीता जोशी ।

‘विगतमा भेटघाट गर्ने, हालखबर जान्ने अरु कुनै उपाय थिएन, त्यसैले टाढाटाढा रहेकी चेलीबेटीहरुलाई कम्तीमा वर्षमा एक पटक भए पनि भेट हुन्छ भन्ने मान्यतामा यो चलन चलाएको हुनसक्छ’, पद्म पब्लिक माध्यमिक विद्यालयकी शिक्षिका जोशी भन्छिन्, ‘तर, अब यातायात तथा सञ्चारको सुविधाले गर्दा सजिलै भेटघाट हुने र हालखबर सोध्न सकिने भएका कारण यसको महत्व घटेको छ ।’

जोशी महिलाहरु आफैं स्वावलम्वी भएका कारण पनि यसको महत्व घटेको हुनसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘पहिले महिलाहरुले मीठो मसिनो खान नपाएका हुन सक्छन् भन्ने आधारमा वर्षमा एक पटक भए पनि खान दिऔं भन्ने हुन्थ्यो होला । तर, अब महिलाहरु आफैं सक्षम छन् भन्ने हिसाबले पनि यो आवश्यक नठानिएको होला ।’

त्यारमाणोको चलन हराउँदै जानुले सामाजिक तथा सांस्कृतिक सम्बन्ध कमजोर भएको सन्देश दिने जोशी बताउँछिन् ।

clock बिहिबार २५, माघ २०८० ०६:४९

प्रतिक्रिया