कञ्चनपुरमा ५८ वटा भारतीय गाडी प्रहरीको नियन्त्रणमा

  बुधबार २४, माघ २०८० ०६:३४

धनगढी । कञ्चनपुरमा ५८ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सीमा क्षेत्रमा पाकिङ्गमा राखिएका सवारी नियन्त्रणमा लिएको हो।

उनीहरुले नेपालमा भन्सार नतिरेको आरोप प्रहरीको छ। आर्थिक ऐन र भन्सार ऐन विपरीत सीमा क्षेत्रमा भारतीय नम्बरका गाडी तगा ट्याक्सीहरू सञ्चालनमा रहेको कञ्चनपुर प्रहरीको दाबी छ। उनीहरूले नेपाली यात्रु बोक्दै आएका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला पार्किङमा राखिएका गाडी प्रहरीले नियन्त्रणमा लिएको हो। दशगजा क्षेत्रमा रहेका सवारी सोमवार नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ।

दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि सवारी नियन्त्रणमा लिएको दाबी कञ्चनपुर प्रहरीको छ। सोमवार नियन्त्रणमा लिएका ५८ वटा सवारीमा ४८ का कागजपत्रको चेकजाँचपछि छोडेको प्रहरीले बताएको छ। 

तर, १० वटा सवारीको आवश्यक कागजपत्र र प्रक्रिया पुरा नभएकाले कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ। कञ्चनपुरसहित सुदूरपश्चिममा भारतीय नम्बरका गाडी तथा ट्याक्सीहरू भाडामा सञ्चालन हुँदै आएका छन्। 

प्रहरी, ट्राफिक प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा उनीहरूले सस्तो भाडा दरमा सुदूरपश्चिममा व्यवसाय गर्दै आएका आरोप लाग्ने गरेको छ।

clock बुधबार २४, माघ २०८० ०६:३४

प्रतिक्रिया