कंचनपुरमा पनि बन्यो दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यदल

  मङ्गलबार २३, माघ २०८० ०९:०६

महेन्द्रनगर । बढ्दो सडक दुर्घटना न्युनिकरण अभियान सञ्चालन गर्न कन्चनपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नरेश बिकको संयोजकत्वमा सडक सुरक्षा सचेतना अभियान कार्यदल कन्चनपुर गठन भएकोछ । सोमबार महेन्द्रनगर बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कन्चनपुर जिल्ला कमिटीले आयोजना गरेको सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक सडक दुर्घटना न्युनिकरण कार्यक्रममा उक्त कार्यदल गठन गरिएको हो ।

कार्यदलले जिल्लाका विभिन्न पालिका, चोक तथा सडकहरुमा सडक दुर्घटना न्युनिकरणका लागि अभियान सञ्चालन गर्नेछ । कार्यदलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य शंकरदत्त जोशी सदस्य सचिव, महाकाली बहुद्धेशीय प्रालिका उपाध्यक्ष विष्णु कँडेल, पवनदुत यातायात प्रालिका अध्यक्ष विष्णु जोशी, पवनदुत अटो म्यानेजमेन्टका अध्यक्ष कर्मा सिंह, नेपाल यातायात मजदुर संघ कन्चनपुर जिल्ला अध्यक्ष धर्मानन्द जोशी सदस्य रहेका छन् ।

देशमा बढिरहेको सडक दुर्घटनाले जनधनको ठुलो क्षति भएको र दुर्घटनाको जोखिममा यातायात मजदुरहरु र आम सर्वसाधारण रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीले देशभरका बसपार्क, सडक तथा चोकहरुमा सडक सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ । सोही कार्यक्रमको सिलसिलामा सोमबार महेन्द्रनगर बसपार्कमा यातायात मजदुर, व्यवसायी तथा सर्वसाधारणकाबीच संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सडक दुर्घटना महामारी झै बढीरहेको बताए ।

दुर्घटना रोक्न सबै सरोकारवालाबीच हातेमालो आवश्यक रहेको जनाउँनुहुँदै साझा कामका लागि कार्यदल गठन गर्न सुझाव दिएपछि साझा कार्यदल बनेको हो । कार्यदलले प्रदेश भरी अभियान सञ्चालन गर्ने र सोही अनुरुप कन्चनपुर जिल्लाको अभियानका लागि कार्यदल बनेको संगठन सुदुर पश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी गराएका थिए । यातायात मजदुर, पैदलयात्रीहरु, सडक प्रयोगकर्ताहरु, विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई जिम्मेवार बनाउँन अभियान सञ्चालन गरिने चन्दले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको तथ्य प्रस्तुत गरेका थिए । तीन करोड नेपाली सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर हुनुपर्ने राईले बताउँनुभयो ।

बसपार्कमा खुल्ला रुपमा सडक सचेतना सम्बन्धी कार्यक्रममा २ सयबढी चालक, सहचालक तथा परिचालकहरु सहभागी थियो । केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिफन्ट सुदुर पश्चिम प्रदेश अध्यक्ष जीतबहादुर मल्ल, ट्राफिक प्रहरी कार्यालय कन्चनपुरका प्रमुख नरेश बिक, महाकाली बहुद्धेशीय यातायात प्रालिका अध्यक्ष डम्बर पन्त, संगठनका महासचिव केशव थापा ९निरु० उपमहासचिव खगेन्द्र ओली लगायत सहभागी थिए ।

clock मङ्गलबार २३, माघ २०८० ०९:०६

प्रतिक्रिया