पश्चिम नेपालमा वर्षा र हिमपात, पानी पर्ने क्रम पूर्वतिर सर्दै

  आइतबार २१, माघ २०८० १५:१९

काठमाण्डौ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बाग्मतीका केही ठाउँमा पनि फाट्टफुट्ट वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । अहिले काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ ।

 पश्चिमी वायुका कारण बादल पूर्वतिर सर्दै गइरहेको र बेलुकीसम्म बाग्मतीसहित पूर्वका जिल्लामा पानी पर्ने क्रम बढ्ने मौसमविद् अधिकारीले बताउनुभयो । यी क्षेत्रमा १० मिलिमिटरसम्म पानी पर्न सक्ने उहाँको भनाइ छ । 
 
भोलि बेलुकीदेखि मौसममा सुधार हुँदै जाने उहाँले बताउनुभयो । पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ । यसैबीच हुम्लामा फेरि आज बिहानदेखि हिमपात भइरहेको छ ।

यस वर्ष हुम्लामा चौथो पटक हिमपात भएको हो । बिहानदेखि हिमपात भइरहँदा जनजीवन कष्टकर बनाएको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताउनुभयो । हिमपातका कारण हुम्लामा हवाई सेवा रोकिएको छ ।

clock आइतबार २१, माघ २०८० १५:१९

प्रतिक्रिया