शिवपुरी धाममा फागुन २ गतेबाट श्रीमद भागवत महायज्ञ हुने

  शनिबार २०, माघ २०८० १६:३४

धनगढी । धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा यसवर्ष पनि ११ औं पटक श्रीमद भागवत महायज्ञ हुने भएको छ । 

शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाममा यसवर्ष फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुने जानकारी गराएको हो ।

धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ । 
धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टले यसको जानकारी दिए । उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए । उनले १०८ शिवलिंग स्थापना संकल्प पनि हुने बताए ।

महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताईएको छ ।

महायज्ञमा वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । 

धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धी बहादुर खडका प्रमुख अथिति रहेका थिए । उनले, धामका लागि वडाले गर्ने सहयोगमा पछि नहटने बताए ।

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो । 

पत्रकार सम्मेलनमा धाम ब्यवस्थापन समितिका उपाध्यक्ष शिद्धराज पनेरुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने पुराणोपासक आचार्य सत्यराज अवस्थीले पनि धामका बारेमा बताएका थिए । कार्यक्रमको सञ्चालन सचिव भीम कुवरले गरेका थिए ।

clock शनिबार २०, माघ २०८० १६:३४

प्रतिक्रिया