अत्तरियाको दोहोरी साँझ प्रकरणः अनुसन्धान गर्न खटियो सीआईबी

  शनिबार २०, माघ २०८० ०६:५०

धनगढी। कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि परिचालन गरिएको छ ।

२५ पुसको राति अत्तरियाको न्यू सत्कार दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्युको अनुसन्धान गर्न सीआईबीका प्रहरी निरीक्षक गणेश जैशी नेतृत्वको टोली परिचालन भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले घटनाको अनुसन्धानका लागि जैशी नेतृत्वको टोली खटिएको जानकारी दिए । उनकाअनुसार देउवाको मृत्यु घटनाको अनुसन्धान गर्न प्रदेश कार्यालय महेन्द्रनगरबाट समेत विज्ञ टोली खटिएर काम गरिरहेको थियो । प्रदेश प्रहरी कार्यालयको आग्रहपछि सीआईबीको टोली कैलाली पुगेर घटनाको अनुसन्धानमा जुटेको हो।

देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम भने यसअघि नै भइसकेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।

२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।

देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए । शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो । त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock शनिबार २०, माघ २०८० ०६:५०

प्रतिक्रिया