धनगढीमा  जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

  शुक्रबार १९, माघ २०८० २१:०५

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो।

प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरुमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए। उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरुले प्रतियोगितामा भाग लग्न सक्ने छन्।

२० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ। प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रुपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए।प्रतियोगितामा सहभागि हुनका लागि प्रवेश शूल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आएको टीमले खान बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने सर्त राखिएको छ।

सो प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रतियोगितामार्फत पहिलो पटक नेविसंघले खेलमैदान निर्माण गराउन दबाब अभियान शुरु गर्न लागेको अध्यक्ष मनिस कुँवरले बताए। उनले प्रतियोगिताको तयारी शुरु भएको र विभिन्न समितिमा संयोजकहरु चयन भईसकेका छन । क्रिकेट एशोसियसन नेपालका सदस्य धिरेन्द्र साउदले प्रतियोगितालाई सफल पार्न क्यानको पूर्ण साथ र सहयोग रहने बताए।

clock शुक्रबार १९, माघ २०८० २१:०५

प्रतिक्रिया