१४ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि दिपायल सिलगढी नगरपालिकालाई

  बुधबार १७, माघ २०८० ०८:४५

डोटी । डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिपायल सिलगढी नगरपालिकाले लिएको छ । दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबारदेखि संचालन भएको प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका ३१ पदक सहित प्रथम भएको हो ।

दिपायल सिलगढीले २२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्न सफल भएको छ । ३१ पदक नै जितेको जोरायल गाउँपालिका प्रतियोगितामा द्धितीय भएको छ ।

त्यसैगरी आदर्श गाउँपालिका १५ पदक सहित तृतीय भएको छ । जोरायलले १० स्वर्ण, १३ रजत र ८ कांस्य पदक जितेको छ भने आदर्श गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र एक कांस्य पदक हात पारेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा शिखर नगरपालिकाले २२, बडीकेदार गाउँपालिकाले २१, बोगटान फुड्सिल गाउँपालिकाले ५, सायल गाउँपालिकाले ८, केआईसिंह गाउँपालिकाले ३ र पुर्वीचौकी गाउँपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूमध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ ।

गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि दिपायल सिलगढी नगरपालिकाले नै जितेको थियो ।

clock बुधबार १७, माघ २०८० ०८:४५

प्रतिक्रिया