तेस्रो मुख्यमन्त्री कप : विभागीय टोलीको विजयी सुरुआत

  आइतबार १४, माघ २०८० १९:१०

कञ्चनपुर । तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा आइतबार विभागीय टोलीले विजयी सुरुआत गरेका छन् । महेन्द्रनगरमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब, एपीएफ र आर्मी क्लब विजयी भएका हुन् ।

पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५–१३, २५–१८ र २५–१४, एपीएफले मधेशलाई २५–१३, २५–१२ र २५–२० र आर्मीले वाग्मती प्रदेशलाई २५–१२, २५–२१ र २५–२२ ले पराजित गरेको हो ।

आयोजक सुदूरपश्चिम र कर्णाली प्रदेश बीचको अन्तिम खेल खराब प्रकाशका कारण रोकिएको छ । दुवै टिमले एकरएक सेट जितेका थिए । स्थगित भएको खेल सोमबार पुनः खेलाइनेछ ।

माघ २० सम्म चल्ने प्रतियोगितामा तीन विभागीय र सातवटै प्रदेशका गरी १० वटा टिमको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्वितीय हुनेले २ लाख र तेस्रो हुनेले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।

सेमिफाइनलदेखिका खेलमा म्यान अफ द म्याच हुने खेलाडीले पनि ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने आयोजक जनाएको छ ।

मुख्यमन्त्री कपका दुई वटा संस्करण धनगढीमै सम्पन्न गरिएको थियो । प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगिता उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदले गरे । प्रतियोगिताका लागि ८० लाख बजेट विनियोजन गरिएको छ ।

clock आइतबार १४, माघ २०८० १९:१०

प्रतिक्रिया