नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन अत्तरियामा टर्च बालेर विरोध
अत्तरिया । कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध गरिएको छ । नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि गठन गरिएको संघर्ष समितिले अत्तरिया चोकमा टर्च बालेर विरोध जनाएको हो ।
विरोध कार्यक्रम अन्तरगत सहभागी व्यवसायीले टर्च बालेर अत्तरिया चोक परिक्रमा गर्दै दोषी पत्ता लगाउन माग गरेका थिए । संघर्ष समितिका संयोजक गणेश बलायरले समितिका पदाधिकारीले नक्कली टिकट भेटिने बितीकै समितिबाटै कारवाही गर्नुपर्नेमा ढाकछोप गरिएको बताए ।
उनले यस घटनामा समितिको साटघाट र राजनीतिक हस्तक्षेप भएको बताए । उनले नक्कली टिकट ठेलीका छानबिन नगरिए आगामी दिनमा थप सशक्त कार्यक्रम गरिने बताए ।
संघर्ष समितिका प्रवक्ता पुष्पराज सुवेदीले नक्कली टिकट ठेली प्रकरणको विषयमा छानविन गर्न माग गर्दै व्यवसायीहरू चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम लिएर अगाडि बढेको बताए । उनले अत्तरियाका व्यवसायीको बेइज्जत हुने काम भएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताए ।
प्रतिक्रिया