निर्माण गरिएका संरचना बन्यजन्तुकालागि धराप बन्दै, मानव-वन्यजन्तुबिच द्वन्द्व

  बिहिबार ११, माघ २०८० १४:३९

धनगढी । निर्माण गरिएका संरचनाका कारण बन्यजन्तुकालागि जोखिम बढ्न थालेको छ । वन्यजन्तुको आक्रमण तथा वन्यजन्तु नियन्त्रणका लागी थापिएका पासोले मानव र वन्यजन्तुबिच द्वन्द्वको दुरी बढ्न थालेको हो। जस्का कारण दुबैको ज्यान जोखिमको सिर्जना भएको हो।

आइतबार मात्रै कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन (उपभोक्ता समूहको वन) भित्र पाटे बाघ मृत फेला पर्‍यो। मृत फेला परेको बाघ दुईरतीनअघि नै पासोमा परेको र मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुरले बताएका छन्। कर्णाली संरक्षित वन क्षेत्रभित्र पासोले घाँटी कस्सिएपछि निसासिएर बाघ मरेको हुनसक्ने उनले बताए । यो घटना एउटा प्रतिनिधी उदाहरण हो ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा माघ ६ गते चितुवा मृत फेला परेको थियो । सोही दिन दार्चुलाको मालिकार्जुन गाउँपालिका– ५ डाँडाकोटस्थित घट्टेगाड खोला किनारमा पनि चितुवा मृत फेला परेको थियो । लगातार अधिकांश वन्यजन्तु पासोमा परेका कारण मरेको वन्यजन्तु संरक्षणकर्मीको भनाइ छ । यसरी मानवबाट वन्यजन्तु मारिएका छन् भने वन्यजन्तुबाट मानिस मरेका उदाहरण धेरै छन् ।


गत चैत १० गते कञ्चनपुरको पुनर्वास नगरपालिका– १० भीम बस्तीकी ३२ वर्षिया कलशा सार्कीको बाघले ज्यान लियो । गत भदौमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाकी २२ वर्षीया मीरा जोशीलाई हात्तीको बथानले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भयो । यस्तै हात्तीकै आक्रमणबाट गत असार ४ गते कैलालीको टीकापुर नगरपालिका– २ की टंकदेवी सोडारीको पनी मृत्यु भयो । २०७८ कार्तिक २ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतीको ज्यान गयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीले ज्यान गुमाएका थिए । घरमा सुतिरहेकै वेला हात्ती आएको हल्ला सुनी घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मार्‍यो ।

यसरी पछिल्लो ५ वर्षमा लालझाडी मोहना संरक्षित क्षेत्रमा ५ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। यस्तै दुई वर्षअघि पुनर्वास नगरपालिका–५ को दोदा नदी किनारमा एक वयस्क हात्ती मृत भेटिएको थियो। त्यसको दुई वर्षअघि सोही क्षेत्रमा विद्युतीय धरापमा परेर एक वयस्क हात्तीको मृत्यु भयो। कैलालीको गौरीगंगा नगरपालिका– ५ अण्डैयाकी २५ वर्षीया कला धामीकोे बाघको आक्रमणबाट ज्यान गयो । यी यस्ता घटना जंगली जनावरको आक्रमणबाट ज्यान गएका केही प्रतिनिधिमात्र हुन् । कैलाली र कञ्चनपुरमा जंगली जनावरको आक्रमणबाट बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा गत साउन ३ गते घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भए । २०६८ साल यता बैतडीमा मात्रै चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा २०७४ सालयता दुई दर्जन बढी चितुवा मृत फेला परे । जसमध्ये आधाभन्दा बढी पासोमा परेर, र गोली लागेर मरेको पाइन्छ । पासोमा परेर घाइते भएका र बिरामी भएका बाघले समयमै उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

कैलाली र कञ्चनपुरमा जङ्गल फडानी गर्दै बस्ती बढेपछि मानव र वन्यजन्तुबीच आक्रमण भइरहेको शुक्लाफाँटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । मानवीय हस्तक्षेप बढ्न थालेपछि वन्यजन्तु गाउँ पस्न थालेको उनको बुझाइ छ । आहाराको खोजीमा पनि तिनीहरू भौतारिरहेकाले अहिले पनी मानवबाट वन्यजन्तु र वन्यजन्तुबाट मानव दुबैलाई जोखिम बढेको बताए । पछिल्लो समय तस्करीका घटना पनि बढिरहेको उनको दाबी छ । बाघ र चितुवाको छाला, सालकको खपेटा, कस्तुरीको बिना तस्करी गर्न पनि वन्यजन्तु मारिने र नासिने क्रम बढेको उनको भनाई छ ।

त्यस्तै भारतसँग सीमा जोडिएको कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रका गाउँ नजिक दिउँसै भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आइरहेका हुन्छन् । जसले मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको छ । वन संरक्षणकर्मीहरुका अनुसार खेतीपाती नोक्सान गर्ने जनावरको लागि थापेको पासोमा ठूला जनावर पनि परिरहेका छन् । केहीले भने तस्करीकै लागि पासो थाप्ने गरेका छन् । यसरी तस्करी गर्न वन्यजन्तु मार्नेहरू पनि नभएका होइनन् । तर, अधिकांश भने किसानले खेत जोगाउन थापेको पासोमा परेर मरेको भेटिने गरेका छन् ।

हात्ती आउनेबित्तिकै नोक्सानै पार्ने तथा दुःख नै दिने भन्ने सोचेर जिस्क्याउने, आगो फाल्ने तथा आक्रोशित बनाउने क्रियाकलाप हुन्छन्। छावासहित भएको हात्ती निकै आक्रामक हुन्छ । त्यो समूहमा भाले भएमा पनि आक्रामक हुन्छ। प्रायः भाले हात्ती ठूलो भएपछि एक्लै हिँड्छ। विगतमा जिस्क्याएको, गाली गरेको ठाउँमा पुगेपछि भाले हात्तीले ती कुरा सम्झेर आक्रमणमा उत्रिने गरेको संरक्षणकर्मी बताएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार आ.व. २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट नेपालमा ५८ जनाको मृत्यु भयो । छ हजार ४७ वटा घरपालुवा पशु मारिए र ४५३ घरगोठमा क्षति पुग्यो । सोही आर्थिक वर्षमा सडक दुर्घटना, चोरी सिकारी तथा तारजालीमा परेर क्रमशः १०८, ४१ तथा २३ वटा वन्यजन्तुको मृत्यु भयो । यसरी मारिनेमा बँदेल, चित्तल तथा बाँदरको संख्या धेरै भए पनि गैँडा तथा हात्ती जस्ता संरक्षित वन्यजन्तुसमेत मानवीय कारणले मारिएका छन्।

clock बिहिबार ११, माघ २०८० १४:३९

प्रतिक्रिया