वादी समुदायका अगुवा रंगे वादीको निधन

  शुक्रबार ०५, माघ २०८० १६:१५
गत भदौमा वादी समुदायको सबैभन्दा ठुलो पर्व भाँडे संक्रान्तिमा सारंगी बजाउँदै गरेका रंगे वादी ।

बझाङ । विपन्न वादी समुदायका अगुवा रंगे वादीको निधन भएको छ । ६४ वर्षीय उनको थलारा गाउँपालिका-५, खोली स्थित आफ्नै घरमा निधन भएको हो । उनी बझाङ जिल्लामा रहेका वादी समुदायका सबैभन्दा पाका व्यक्ति समेत हुन् ।

सामान्य रिङ्गाटा लागेको भन्दै बुधबार स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि गएका उनी उपचारपछि निको भएर घर फर्केका थिए । बिहीबार दिउँसो आराम गर्न भनेर सुतेका उनी साँझ मृत भेटिएको उनका छोरा मौसम वादीले जानकारी दिए । शुक्रबार थलाराको झनाना स्थित सेती किनारमा उनको दाह संस्कार गरिएको छ ।

वादी समुदायको इतिहास, परम्परा र संस्कृतिका जानकारी रंगे वादी कुसल गायक, मादल र सारंगी बादक पनि थिए । उनी यो समुदायको मुख्य पेशाको रुपमा रहेको माटोको भााडा बनाउन सबैभन्दा सिपालु अगुवा समेत हुन् । मिठो बोली र टठ्यौलो स्वभावका रंगे कला र स्वभावका कारण जिल्लाभरि नै सबैका प्रिय थिए ।

नयाँ पुस्तालाई मादल, सारंगी र माटोका भाँडा बनाउने सीप सिकाइरहेका रंगे पछिल्लो समय आधुनिक प्रविधिका कारण वादी समुदायको जिविकाको श्रोतको रुपमा रहेको नाचगानको परम्परा र माटोका भाँडा बनाउने पेशा संकटमा परेकोप्रति निकै चिन्तित थिए ।

वादी समुदायको सीप, कला, इतिहास र संस्कृतिको बारेमा जानेका रंगे वादीको निधनले वादी समुदायलाई मात्रै नभएर सीप र कला क्षेत्रमै अपुरणीय क्षति पुगेको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताए । ‘इतिहास मात्रै नभएर पुराना गीत, कथा र साहित्य कण्ठस्थ भएको उहाँ जस्तो व्यक्ति अब अर्को छैन,ु अध्यक्ष रोकायाले भने, ‘उहाँको निधनले वादी समुदायले मात्रै नभएर जिल्लाको कलाकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ ।ु

वादी समुदाय परापुर्वकालमा राजा रजौटा र गाउँका ठालु भलादमीका घरमा गई नाचगान गर्ने तथा विवाह व्रतबन्ध आदि चाडवाडमा रमाइलो गरी मागेर खाने अल्पसंख्यक समुदाय भित्र पर्दछ । देशमा भएका राजनीतिक तथा अन्य परिर्वतनको प्रवाहलाई पछ्याउन नसकेको यो जातिलाई दलित भित्रको पनि दलितका रुपमा चिनिन्छ।

बझाङमा जयपृथ्वी नगरपालिकाको चैनपुरमा १४ र थलारा गाउँपालिकाको खोलीमा ३० गरी ४४ वादी परिवारमात्रै छन् । उनीहरुको जनसंख्या १९८ मात्रै छ ।

clock शुक्रबार ०५, माघ २०८० १६:१५

प्रतिक्रिया