सुदूरपश्चिमका बन्द विमानस्थलमा वर्षेनि करोडौँ खर्च हुँदै, उडान सेवा अझै बन्द
धनगढी । २०५१ सालदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण भएको थियो। त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए। तर, एक वर्ष पनि नचलेर सो विमानस्थल पुनः बन्द हुन पुगेको हो।
अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती टिकटक बनाउँछन्। २०७७ असोजदेखि २०७८ चैतसम्म० १५÷१६ पटक फ्लाइट भयो होला,’ पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले भने, ‘सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल थियो, यात्रु नपुगेपछि एक पटक राखियो, तैपनि लोड पुगेन र बन्द गरियो।’
नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ। विमानस्थलको पछिल्लो तीन वर्षको कार्यालय सञ्चालन खर्च मात्रै १४ लाख २३ हजार रुपैयाँ छ। दार्चुला र डडेलधुरामा पनि विमानस्थल निर्माणका नाममा ठूलो रकम खर्च भइरहेको छ।
दार्चुलामा चमेलिया नदी किनारमा निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि ३ करोड खर्च भइसकेको छ भने थप २० करोड रुपैयाँ खर्च हुने अनुमान छ। उक्त निर्माणाधीन विमानस्थलबाट पाटन विमानस्थलसम्मको सडक दूरी ६८ किमि ९हवाई दूरी १२।२७ नटिकल माइल० मात्र छ। पाटन विमानस्थलबाट करिब ६ नटिकल माइलमा रहेको डडेलधुरामा नयाँ विमानस्थलको प्रस्ताव ल्याइएको छ।
सो विमानस्थलको सम्भाव्यता अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुसमा ५० लाख विनियोजन गरेका थिए। जब कि हवाई नीति २०६३ को दफा ५।७।१ ले हिमाली र पहाडी क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी साधारणतया २० नटिकल माइल हुनुपर्ने व्यवस्था गरेको छ। डडेलधुराबाट ५७ किमिको सडक दूरीमा रहेको दिपायल विमानस्थल पनि बन्द छ।
आठ वर्षअघि ५ करोड ३४ लाख रुपैयाँ खर्चेर स्तरोन्नति गरिए पनि यात्रु अभावमा उडान हुन सकेन। एक दशकमा यही विमानस्थलको कार्यालय सञ्चालनका नाममा ८१ लाख खर्च भएको छ। २०७८ पुस ११ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरको अध्यक्षतामा बसेको उड्डयन प्राधिकरणको बैठकले डडेलधुरालगायत सुदूरपश्चिमका १० विमानस्थलका लागि १ अर्ब ३२ करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो।
कालोपत्र भइसकेको साँफेबगर विमानस्थललाई ३ करोड र साँफेबगरबाट १२ नटिकल माइल ९६७ किमि सडक दूरी० मात्र टाढाको कमलबजार विमानस्थल सुदृढीकरणका लागि ३ करोड छुट्याइएको थियो। १० विमानस्थलमध्ये धनगढी र बाजुरामा मात्रै नियमित सञ्चालनमा छन्। बझाङ र साँफेबगरमा कहिलेकाहीं मात्रै जहाज पुग्छ।
धनगढीस्थित क्षेत्रीय विमानस्थलबाट एक घण्टाको सडक दूरी (२६ नटिकल माइल) मा रहेको महेन्द्रनगर विमानस्थललाई पनि मन्त्री आलेले २ करोड ५१ लाख विनियोजन गरेका थिए। हवाई नीति २०६३ मा तराई क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी ४० नटिकल माइल हुनुपर्ने व्यवस्था छ। २०३० सालमा बनेको यो विमानस्थलको स्तरोन्नति भएपछि २०७८ पुस २८ मा आलेले पुनः उद्घाटन गरे। आधारभूत पूर्वाधार अभाव र पछौटेपनको सिकार बन्दै आएको सुदूरपश्चिम प्रदेशमा जनताको जीवनयापनसँग जोडिएका क्षेत्रमा लगानी गर्नुको साटो नीतिनियम मिच्दै, सञ्चालनमै आउन नसक्ने विमानस्थलमा रकम खन्याइएको स्थानीयलाई निको लागेको छैन। कान्तिपुरबाट
प्रतिक्रिया