रातीको समयमा छाडा पशु चौपायाबाट बाली जोगाउनै मुस्किल, किसान खेतमै जाग्राम

  मङ्गलबार ०२, माघ २०८० ०६:५०

धनगढी। कैलालीका किसानले छाडा पशुचौपायाका कारण सास्ति खेप्नु परेको छ। छाडा चौपायाले रातिको समयमा बाली सखाप पार्न थालेपछि किसानहरु खेतमै जाग्राम बस्न थालेको महिना दिन भइसकेको उनीहरुले बताएका छन् ।

कैलारी गाउँपालिका वडा नम्बर ३ भर्रीका कृषक नाथुराम चौधरीलाई छाडा चौपायाले खेतबारी नष्ट गर्न थालेपछि गहुँबाली जोगाउन निकै चिन्ता परेको छ । खेतबारीमा लगाएको अन्नबाली छाडा चौपायाले सखाप पार्न थालेको भन्दै चिन्तीत देखिन्छन् । “खेतमै राति बस्दा पनि गहुँ र मुसुरो जोगाउन मुस्किल भएको छ,” उनले भने,“एकातिरबाट धपाउँदा अर्कोतिरबाट आएर खाइहाल्छन् ।”

यस्तै अर्का किसान कैलारी बजपुरकै सीताराम चौधरीलाई पनि हरेक रात खेतमा बास नबसी सुख छैन । वसन्ता कोरिडोर सडक क्षेत्रमा रहेका छाडा चौपाया राति खेतमा पसेर नोक्सान गर्न थालेकाले हिउँदको चिसो रातमा स्थानीय कृषक हिउँदे खेती जोगाउन रातभर खेतबारीमा बस्न थालेका हुन् ।“खेतमा जाग्राम बस्न गइएन भने वर्षभरिलाई खानका लागि तयार हुने बालीलाई छाडा चौपायाले एकै रातमा सखाप पार्छन्” उनले भने, “पेट पाल्नका लागि किसानलाई सजिलो कहाँ छ र ”

नाथुराम र सीताराम जस्तै धेरै किसान छाडा पशुचौपायाका कारण पीडित छन् । छाडा चौपायाबाट खेतीपातीमा नोक्सानी किसानको साझा समस्या हो । हिउँदयाममा छाडा चौपायाले अझ बढी नोक्सान गर्ने गरेकाले अहिले धेरैजसो गाउँका किसान खेतमै बास हुन थालेको छ । उनीहरू छाडा चौपाया धपाउनका लागि ससाना झुपडी बनाएर खेतमै बास बस्ने गरेका छन् । चौपायाबाट बाली जोगाउनका लागि खेत, वनजङ्गल छेउछाउमै रातभर जाग्राम बस्नु परेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटा गाउँका किसान चिपुराम डङ्गौरा बताए ।

हिउँदे बाली खानका लागि छाडा चौपाया खेतमा जान थालेपछि सिङ्गो गाउँ नै जाग्राम बस्न थालेको उनले बताए। “अत्यधिक छाडा गाईगोरु बड्का बनुवाँ क्षेत्रमा रहेका छन् ।ती गाईगोरु खेतमा गएर नोक्सान गर्न थालेपछि वनको छेउछाउमा टहरा बनाएर गाउँभरिकै मानिस रातभर जाग्राम बस्ने गरेको उनको भनाई छ । छाडा चौपाया धपाउनका लागि एक गाउँको तीन समूह विभाजन गरिएको छ। समूह मिलाएर पालैपालो राति छाडा गाईगोरु धपाउन जानुपर्दछ ।

सयौँको सङ्ख्यामा आउने छाडा चौपायाले खेतमा पुग्नेबितिक्कै बालीनाली सखाप पार्ने गरेको कृषकको भनाइ छ । “छाडा गाईगोरुको झुन्ड जता खेतमा पस्यो, उतै बाली सखाप हुने गर्दछ,” कैलारी गाउँपालिका–५, जबदहुवाका जयराम चौधरीले भने । उनका अनुसार केही दिन पहिलेसम्म वनजङ्गल आसपासका खेतमा मात्रै छाडा चौपाया पल्केका थिए तर अचेल वन क्षेत्रभन्दा टाढा रहेको गाउँका खेतमा पनि छाडा चौपाया पुग्न थालेका छन् ।

भारततिरबाट पनि धेरै छाडा चौपाया आएर खेतीपातीमा नोक्सान गर्ने गरेको किसानको भनाइ छ । सीमा क्षेत्रका गाउँ भितरिया, भर्री, के गाउँ, निमुवाबोझी, मोहनपुर, बैजपुर, मनिकापुर, भुइँयाफाँटा, रामपुर, वसन्तालगायतका गाउँका किसान छाडा चौपायाले आजित छन् । छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानले ठुलो समस्या झेल्नु परेको कैलारी–५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । बड्का वनुवाँमा मात्रै करिब तीन÷चार हजारको सङ्ख्यामा छाडा चौपाया रहेको वडा नम्बर ७ मा गौशाला निर्माण गर्न खोज्दा वन कार्यलयले निर्माण गर्न नदिएको उनले बताए ।

यो समस्या कैलालीमा मात्र नभइ कञ्चनपुरमा पनि बढ्दै गइरहेको छ । छाडा चौपायाले खेतबारी नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। हरेक पालिकामा छाडा चौपाया व्यवस्थापन चुनौती थपीदै गएपनि पनि उचित व्यवस्थापन भने अझै हुन सकिरहेको छैन।प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट छुट्याएको छ ।उचित व्यवस्थापन भने अझै हुन सकिरहेको छैन।छाडा पशुचौपाया व्यवस्थापनका नाममा यसअघि कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले करौँडौ रुपैयाँ खर्च गरेको भए पनि उचित व्यवस्थापन भने अझै हुन सकेको छैन् ।

clock मङ्गलबार ०२, माघ २०८० ०६:५०

प्रतिक्रिया