भिजिबिलिटीकै समस्या देखिएपछि धनगढीका लागी उडेका श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

  बुधबार २५, पुष २०८० १४:१९

धनगढी। प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको हो।

दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन्। श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए।

बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए। उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ। धनगढी विमानस्थलमा कम भिजिबिलिटी भएको अवस्थामा पनि फ्लाइट रद्द गर्नुपर्ने अवस्था नआउने विमानस्थल कार्यालयले जनाएपनी सो समस्या पुनः बल्झिएको छ।


गत वर्षको मंसिरमा कुनैपनि उडान ५ हजारभन्दा कम भिजिबिलिटी भएको अवस्थामा पनि फ्लाइट रद्द गर्नुपर्ने अवस्था नआउने जनाएको थियो। धनगढी विमानस्थलमा भीओररडीएमई उपकरण जडान भएर सफल परिक्षण भएको भन्दै कुनै पनि उडान सेवा प्रभावित नहुने विमानस्थल कार्यालयले बताएको थियो। तर एक वर्ष नपुग्दै सो समस्या पुनः देखीएको छ। जुनसुकै मौसममा पनि विशेष गरी साना जहाजहरुको सहजै उडान र अवतरण गर्न मद्दत मिल्ने, १६ देखि १७ मिटर भिजिबिलिटीमै पनि उडान भर्न सकिने हुँदा पहाडी जिल्लाको उडान समेत रद्द नहुँने विमानस्थल कार्यालयले जनाएको थियो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले धनगढी विमानस्थलमा भीओररडिएमई र एप्रोच लाइट जडानसहित सफल परिक्षण समेत भइसकेकाले भिजिबिलिटी समस्याले कुनैपनि जहाजको उडान रद्द नहुँने बताइरहँदा अहिले सो समस्या समाधान नभएको पुष्टि भएको छ।यसअघि सिभिलको काम भइरहेको समयमा जमिनमुनिबाट पानी निस्किएपछि जाइकाको टोली उपकरण जडान नगरेरै फर्किएको थियो।

clock बुधबार २५, पुष २०८० १४:१९

प्रतिक्रिया