टी–२० विश्वकप : नेपाल, दक्षिण अफ्रिका र श्रीलंका एउटै समूहमा

  आइतबार २२, पुष २०८० ०६:३०

काठमाडौं । टी–२० विश्वकमा नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने टी–२० विश्वकपको समूह, खेलतालिका र स्थान सार्वजनिक गरेसँगै नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा परेका हुन् । टी–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

उक्त विश्वकपको समूह डी मा समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स र नेपाल छन् । खेल तालिकाअनुसार नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । त्यसपछि जुन ११ मा नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्नेछ । यी दुवै खेल अमेरिकामा हुनेछन् । त्यसपछि नेपालले समूह चरणका बाँकी दुई खेल वेष्टइण्डिजमा गएर खेल्नेछ । नेपालले जुन १४ मा सेन्ट भिनिसेन्ट द गार्डेन्समा दक्षिण अफ्रिकासँग र सोही मैदानमा नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

यस्तै, खेलतालिका अनुसार समूह ए मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका छन् । समूह बी मा इंग्ल्याण्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सी मा न्युजिल्याण्ड, वेष्टइण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवान्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । विश्वकप फाइनल २९ जुनमा हुनेछ ।

समूह ए मा रहेका भारत र पाकिस्तानबीचको खेल र समूह बी रहेका इंग्ल्याण्ड र अष्ट्रेलिया तथा समूह सी मा रहेका टेष्ट टिममा न्युजिल्याण्ड र वेष्टइण्डिजबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ ।

नेपालको समूहमा टेष्ट टोलीको रूपमा दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । श्रीलंका र बंगलादेशको पछिल्लो समयस्तर खस्किँदो रहेकाले नेपाललाई समूह चरण पार गर्ने सम्भावनासमेत छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले चिरप्रतिद्वन्द्वी युएईलाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

१० वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो । यसअघि सन् २०१४ मा पारस खड्का नेतृत्वको नेपाली टोलीले पहिलोपटक बंगलादेशमा विश्वकप खेलेको थियो । नेपाल २०१४ को टी–२० विश्वकपमा भने बंगलादेशसँग रन रेटमा पछि पर्दै पहिलो चरणबाटै बाहिरिएको थियो । त्यो विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो ।

यसअघि १६ टोली विश्वकप खेल्ने गर्दथे । पहिलो चरणबाट दुई/दुई टोली सुपर १२ मा पुग्ने गर्दथे । तर, टोली संख्या बढाएसँगै अब २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । त्यसैले नेपालले ठूला टोलीसँग सोझै खेल्ने अवसर पाएको हो ।

clock आइतबार २२, पुष २०८० ०६:३०

प्रतिक्रिया