कञ्चनपुरमा चार लाख प्रथम पुरस्कारको भलिबल प्रतियोगिता हुँदै

  बुधबार १८, पुष २०८० ०६:२३

कञ्चनपुर । कञ्चनपुरमा चार लाख प्रथम पुरस्कारको भलिबल प्रतियोगिता हुने भएको छ। जिल्लामा माघ तेस्रो साता मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएको हो।

सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिको आयोजनामा र जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ गतेदेखि २० सम्म महेन्द्रनगरस्थित कभर्ड हलमा प्रतियोगिता हुने भएको छ। प्रदेशकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता रहने छ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्वितीयले २ लाख र तेस्रोले १ लाख पुरस्कार प्राप्त गर्नेछ। यसैगरी चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

सेमीफाइनलदेखिका खेलमा म्यान अफ द म्याच हुने खेलाडीले पनि ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ दिइने छ। प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायातदेखि आवास खर्च सबै आयोजकले नै बेहोर्ने छ।

प्रतियोगितामा एक सय ७० खेलाडी र ५० जना अफिसियल सहभागी हुने आयोजकले बताएको छ। प्रतियोगिताका लागि ८० लाख बजेट विनियोजन भएको प्रदेश खेलकुद विकास समितिले जनाएको छ।

clock बुधबार १८, पुष २०८० ०६:२३

प्रतिक्रिया