स्टार सिटीलाई फारवेष्ट पशुपति कपको उपाधि

  शनिबार १४, पुष २०८० १९:०१

धनगढी । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । आज धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाईनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो । 

पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाईएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे । एक एक बरीबरमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औं मिनेटमा ईलाईटका विनोद केसीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन् । पहिलो हाफको ४१ औं मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेलाडीलाई २–२ को बराबरीमा पुराए । 

पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै प्रदीप लामाले व्यक्तीगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पीयन बनेको हो । स्टार सिटीलाई च्याम्पीयन बनाउन फाईनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पीयन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागीता जनाएर उपविजेता बनेको ईलाईटले नगद २ लाखमा चित्त बुझाए ।  

प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । स्टार सिटीकै निलेश बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । ईलाईका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशिल विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे । 

च्याम्पीयन बनेको स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर खेलेका कारण च्याम्पीयन भएको बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जितेको बताए । उनले आफ्ना खेलाडीहरुले शत प्रतिशत दिएर खेलेको बताए । 

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएर उपविजेता बनेको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले आफुहरुले राम्रो खेलेको भएपनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौकाहरु गोल नहुँदा टीम पराजित भएको बताए । ईलाईटका प्रशिक्षक अमर चौधरीले आजको दिन आफ्नो पक्षमा नरहेको भन्दै राम्रो खेल्दा पनि उपाधि जित्न नसकेको बताए । उनले आशा गरिएका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे । 

विजयी खेलाडीहरुलाई एक समारोहबा बीच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, विशिष्ठ अतिथि गैर आवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावत लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको थियो भने मुख्य प्रायोजकमा एनआरएनए रहेको थियो । 

clock शनिबार १४, पुष २०८० १९:०१

प्रतिक्रिया