लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण पुस २५ गते हुने सुनुवाइले गर्ने

  शुक्रबार १३, पुष २०८० २०:४६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । शुक्रवार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तित नाम गौशाला २६ (६) २०७९/०८० को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सन्दीप लामिछाने भएको जबरजस्ती करणी मुद्दामा ८ गतेदेखि लगातार सुनुवाई भइ बहस भएको थियो । परिवर्तित नाम गौशाला २६ (६)२०७९/०८० को जाहेरी दर्खास्त प्रतिवादी सन्दीप लामिछानेको बयान परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० राजन राणा,बाबुकाजी थापा मग, सविन श्रेष्ठ, अनिष श्रेष्ठ, समिर पुरी, सन्तोषप्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम, देव खनालसमेतले गरिदिएको घटना विवरण कागज र निजहरुको वकपत्र लगायत संलग्न सिसिटिभि फुटेजको आधारमा परिवर्तित नामा गौशाला २६ (६) (१) २०७९/०८० तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गइ पुनः काठमाडौं आइ होटल काठमाडौंको एउटै कोठामा बसेको देखिन्छ । सो कुरामा वादी, प्रतिवादीको विवाद रहेको समेत देखिँदैन । राती एउटै कोठामा बसेको अवस्था देखिएको सो समयमा परिवर्तित नाम गौशाला २६ (६) (१)२०७९/०८०ले करणी भएको भनेको र परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० का बीचमा करणी भएको देखियो । रालुका गाविस नुवाकोटको बसाईंसराई दर्ता रजिष्टार शंखरापर नगरपालिका काठमाडौंको बसाईसराई दर्ता किताव, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरि रजिष्टर, परिवर्तित नाम गौशाला २६ (६) २०७९/०८० को वकपत्र, तादि गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, नुवाकोटको मिति २०८०-५-०५ गते तथा मिति २०७९-७-२९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० को जन्ममिति २०६१-३-१८ मा भएकोदेखि बलात्कार हुँदाका दिन निजको उमेर १८ वर्ष पुगिसकेको देखियो । १८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहीता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ । सो संहीताको दफा २१९ (३) (घ) बमोजिमको कसुर कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो अर्थमा पुग्न सक्दैन । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा (न) बमोजिम सजाय निर्धारण सुनुवाईको लागि २०८०÷९÷२५ गते पेशी तोक्ने । सो मिति अगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायपूर्वको प्रतिवेदन तथा पीडितलाई बढाउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधार समेत पेस गर्नु ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

clock शुक्रबार १३, पुष २०८० २०:४६

प्रतिक्रिया