फारवेष्ट पशुपति कपको उपाधिका लागि साविक विजेता स्टार सिटी र ईलाईट भिड्ने
धनगढी । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन् ।फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाई उपाधिका लागि भिड्ने भएका हुन् ।
धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा स्टार सिटी युवा क्लबले बिएस १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ ले हराउँदै स्टार सिटी लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । पहिलो हाफमा बराबरी खेलेका दुबै टोलीले खेलमा भएका सबै ८ गोल दोस्रो हाफमा भएका हुन् ।
स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११ औं मिनेटमा आफ्नो टीमका लागि खाता खोलेका कप्तान कुवेरले २१ औं निमेटमा दोस्रो तथा २९ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५ औं र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१ औं मिनेटमा गोल गरे ।
बिएस १५ स्पोर्टस एकेडेमीका लागि विदेशी खेलाडीद्धय गुईलामे डिनले दोस्रो हाफको ४० औं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरे । प्रतियोगिताको दोस्रो ह्याट्रिक सहित हालसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका स्टार सिटीका कुवेर सिंह खेलको म्यान अफ द म्याच बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
धनगढी रंगशालामा भएको दोस्रो सेमिफार्ईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको ईलाईट युवा क्लबले पनि प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । ईलाईटले फारवेष्ट पशुपतिलाई ३–० ले हराएको हो ।
ईलाईटका लागि विनोद केसी, भुपेन्द्र शाही र योहन्ना चौधरीले एक एक गोल गरे । पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै विनोदले ईलाईटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको ईलाईटले दोस्रो हाफमा थप गोल थप्यो । दोस्रो हाफको ८ औं मिनेटमा भुपेन्द्र र ३४ औं मिनेटमा योहन्नाले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ईलाईटका भुपेन्द्र शाही खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १४ गते शनिबार सकिनेछ । धनगढी रंगशालामा शनिबार दिउँसो साढे २ बजे उपाधिका लागि स्टार सिटी र ईलाईट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।
प्रतिक्रिया