बझाङमा घरघरै पुगेर बालबालिकाको स्वास्थ्य चेकजाँच गरीदै

  मङ्गलबार १०, पुष २०८० ०६:४४

बझाङ । डेढ वर्षीया बालिका । मुखभरी घाउ नै घाउ । तल्लो ओठमुनिको भाग पाकेर रगत र पीप बगिरहेको छ । उनी खेल्दैगर्दा पीडाले बेला बेला छट्पटाउँथिइन् । घाउकै कारण खानासमेत राम्ररी खान सक्दिन थिइन् ।

दृश्य मष्टा गाउँपालिका–६ को हो । बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन् । उनको जिम्मेवारी घरका अन्य अभिभावकमाथि छ । तर, उपचारको लागि नजिकैको स्वास्थ्यचौकीसम्म पनि नलगेको अवस्था थियो । ‘घरेलु उपचार गर्दा ठीक हुन्छ’ भनेर कुरिरहेका रहेछन् ।

यो समस्या यी बालिकालाई मात्रै नभएर गाउँका अन्य बालबालिकालाई समेत भइसकेको रहेछ । अभिभावक पनि ‘आफैं निको भइहाल्छ’ भनेर बसेको पाइयो ।

मष्टा गाउँपालिका–६ मा जनश्रमदान महाअभियानलाई साथ दिन अध्यक्ष ज्ञानबहादुर बोहरा पुगेका थिए । उनले अन्य समस्या समेत बुझी विस्तार गरे । अभियानबाट पालिकामा नियमित कामकाजका लागि फर्किंदै गर्दा उनले सडकमा खेलिरहेका बालबालिकालाई नियाले ।

६–७ जना बालबालिकामध्ये डेढ वर्षीया बालिकाको मुखभर घाउ देखेर जिप रोके र ती बालिका भएको ठाउँ पुगे । उनको अभिभावकलाई ‘के भएको ?’ भनेर सोधखोज गरे । बालिकालाई उपचारका लागि स्वास्थ्यचौकी लिन सुझावसमेत दिए ।

अध्यक्ष बोहरा बालिकालाई स्वास्थ्यचौकी लैजानसमेत तत्पर बने तर बालिकाले जान मानिनन् । बालिका उल्टै रुन र कराउन थालिन् । बोहराले बालिकालाई स्वास्थ्यचौकीसम्म लैजान अभिभावकलाई कर गरे र सुझाव दिएर फर्किए ।

‘यस्ता समस्या अन्त पनि छन् ?’ भनेर बुझ्दा बालबालिकामा यो समस्या देखाप¥यो । गाउँमा २–३ अन्य बालबालिकासमेत कपाल पाकेको, मुख पाकेको समस्या जानकारीमा आयो । नजिकैको स्वास्थ्यचौकीसम्म पनि नलाने गरेको जानकारी पाएपछि अध्यक्ष गाउँपालिका फर्किए ।

पालिका फर्किएको दोस्रो दिन अध्यक्ष बोहराले स्वास्थ्य शाखाका कर्मचारीसँग अन्तक्र्रिया गर्दै समस्या अवगग गराए । उनले तत्कालै स्वास्थ्यकर्मीको टोलीलाई गाउँमा पुगेर बालबालिकाको स्वास्थ्यको चेकजाँच तथा उपचार गर्न निर्देशन दिए ।

निर्देशनपछि पालिकाबाट स्वास्थ्य शाखाका सहसंयोजक एचए रवीन्द्र बोहरासहितको टोली गाउँ पुगेर बालबालिकाको चेकजाँच तथा उपचार गरेको छ । ती बालिकाको समेत घरमा पुगेर उपचार गरेको जानकारी एचए बोहराले दिए । अन्य स्वास्थ्य समस्या पनि जानकारी लिएर घरमै स्वास्थ्य उपचार गराएको उनी बताउँछन् ।

स्वास्थ्य शाखाले पालिकाभरका अन्य स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई समेत ‘यस गाउँघरमा यस्तो समस्या देखापरे घरमै पुगेर उपचार गर्न’ निर्देशन दिएको छ । यस अभियानमा आफूहरू निरन्तर लाग्ने एचए बोहरा बताउँछन् ।

गाउँघरमै उपचार पाउने भएपछि नागरिसमेत खुःसी भएका छन् । अभिभावकले सामान्य सम्झेर उपचार नगराउने परिपाटीका कारण ठूलो भएपछि अंगभंग हुने तथा अकालमै ज्यान जाने, हृदयरोगको सिकार हुनेजस्ता जटिल समस्याबाट छुटकारा दिलाउन यस अभियानलाई पनि निरन्तरता दिने मष्टा गाउँपालिका अध्यक्ष बोहराको प्रतिबद्धता छ ।

गाउँमा ‘के कस्ता स्वास्थ्य समस्या रहेका छन् ?’ भनेर विद्यालयमा बुझी विस्तार गरेपछि जुन गाउँटोलका बालबालिका, किशोरकिशोरी तथा ज्येष्ठ नागरिकमा समस्या देखियो । सोही टोल–गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने लक्ष्य लिइएको छ ।

पालिकाले जनश्रमदान महाअभियानसँगै नागरिकका स्वास्थ्यसमेत ख्यालमा राखेर अघि बढेको देख्दा स्थानीयले सरकार गाउँघरमै पुगेको अनुभूति गर्न पाएको प्रतिक्रिया दिएका छन् ।

clock मङ्गलबार १०, पुष २०८० ०६:४४

प्रतिक्रिया