नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा

  आइतबार ०८, पुष २०८० ०६:५८

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ। ललितपुर सिटी एफसीमाथि १–० गोलको जित हात पार्दै काठमाडौं अन्तिम चारमा पुग्दा झापा भने प्रतियोगिताबाट बाहिरियो। योसँगै जारी सिजनको शीर्ष चार समीकरण पनि पूरा भएको छ।

बटवल लुम्बिनीले वीरगन्जलाई पराजित गरेपछि त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आफ्नो खेल सुरु हुनु अघिनै ललितपुर प्ले अफ पुगिसकेको थियो। 

काठमाडौंलाई भने जित्नै पर्ने दबाब थियो। पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोलनै काठमाडौंको जितमा निर्णायक बन्यो। 

दोस्रो हाफमा ललितपुरले दबाब बनाए पनि बराबरी गोल फर्काउन सकेन। ७५ औं मिनेटमा अमित तामाङले रातो कार्ड पाएपछि काठमाडौं दश खेलाडीमा झर्‍यो।

अमितले निखिल कमदमाथि हेड बट गरेपछि रेफ्रि प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका हुन्। काठमाडौं दश खेलाडीमा समेटिए पनि अनन्त तामाङको टोली ललितपुरले त्यसको फाइदा उठाउन सकेन।

काठमाडौं आठ खेलबाट १२ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो। ललितपुर, झापा र बुटवलको समान दश अंक भए पनि हेड टु हेडमा ललितपुरले सबैलाई पछि छोड्यो।

शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी एफसीले सोमबार पहिलो क्वालिफायर्स खेल्नेछन्। विजेता टोली फाइनल प्रवेश गर्नेछ।

एलिमिटेनरमा मंगलबार ललितपुर र काठमाडौं नै आमने सामने हुने छन्। हार्ने टिमको यात्रा समाप्त हुनेछ। 

यो खेलको विजेताले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा हार बेहोर्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ।

clock आइतबार ०८, पुष २०८० ०६:५८

प्रतिक्रिया