फारवेष्ट पशुपति कपः ईलाईट र घोडाघोडी विजयी

  शनिबार ०७, पुष २०८० २०:५६

धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट युवा क्लब र घोडाघोडी नगरपालिकाको घोडाघोडी युवा क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएका खेलमा जित हात पार्दै ईलाईट र घोडाघोडीले क्वाटरफाईनलमा स्थान बनाएका हुन् । 

धनगढी रंगशालामा भएको पहिलो खेलमा ईलाईट युवा क्लबले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ । ईलाईटको जितमा विदेशी खेलाडी फोफानाले एक मात्रै गोल पेनाल्टीको सहारामा गरे । दोस्रो हाफको २६ औं मिनेटमा अलस्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि पाईएको पेनाल्टीलाई विदेशी खेलाडी फोफानाले गोलमा परिणत गरे । उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् । 

धनगढी रंगशालामा भएको दोस्रो खेलमा घोडाघोडी युवा क्लबले टेकवहादुर चोखाल फाउण्डेसनलाई टाईब्रेकरमा ४–२ ले हराएर क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समय दुबै टोलीले दुई दुईको बराबरी खेलेका थिए । पहिलो हाफको १२ मिनेटमा गोल गर्दै घोडाघोडीले अग्रता लियो । पहिलो हाफकै १९ मिनेटमा टेकवहादुर चोखाल फाउण्डेसनका लागि ज्ञानु भण्डारीले गोल गर्दै खेल बराबरीमा पुराए । दोस्रो हाफको दोस्रो मिनेटमै टेकवहादुर चोखाल फाउण्डेसनकासुदीप धामीले गोल गर्दै आफ्नो टीमलाई २–१ म पुराए । दोस्रो हाफको १९ औ मिनेटमा फाउण्डेसनले आत्मघाती गोल खादै बराबरीमा आयो ।  

पेनाल्टी सुटआउटमा फाउण्डेसनका ज्ञानु भण्डारी र राजेन्द्र प्रताप सिंहको पेनाल्टी प्रहारलाई घोडाघोडीका गोलरक्षक राजेन्द्र विष्टले बचाए । घोडाघोडीका लागि सुजित बुढाथोकी संजीव लामा माईकल शाही र करन रावतले पेनाल्टीलाई गोलमा परिणत गरे । फाउण्डेसनका लागि सुदिप विक र मदननाथ योगीले मात्रै गोल गरे । टिमलाई जित दिलाउन सफल घोडाघोडीका गोलरक्षक विक्रम विष्ट म्यान अफ द म्याच भए । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् । 

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ब्वाईज युनियन लम्की र नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश तथा दोस्रो खेलमा पुर्नवास युनाईटेड र ग्रीन युथ क्लब प्रतिस्पर्धा गर्नेछन । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ । 
 

clock शनिबार ०७, पुष २०८० २०:५६

प्रतिक्रिया