गौरीफन्टामा भारतीय युट्युबरले गरेका थिए नेपाल प्रहरीमाथि बर्दीमै हातपात

  बिहिबार ०५, पुष २०८० १७:२९

धनगढी । सामाजिक सञ्जाल फेसबुकमा एक जना प्रहरी हवल्दारमाथि केही व्यक्तिले हातपात गरेको भिडियो भाइरल भइरहेको छ ।

नेपाल प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि हातपात भइरहेको भिडियो कैलालीको गौरीफन्टा नाकाको भएको खुलेको छ ।

भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पुष्टि गरे ।

३ पुसमा भुल उपचारका लागि भारत गइरहेका भाइलाई गाडीसम्म पुगाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमीमा प्रवेश गरेका थिए ।

सोही क्रममा उनीमाथि भारतीय व्यक्तिले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ ।

सुरुमा गालामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’ डाँगीले भने भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो ।

‘भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । भुलका चिनजानकै उनी युटुबर समेत हुन् । ‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन,’ प्रहरी स्रोतको भनाइ ।

पुख्र्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ ।

भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।

clock बिहिबार ०५, पुष २०८० १७:२९

प्रतिक्रिया