अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाल दोस्रो, सुदुरपश्चिमका सबै खेलाडीका हातमा पदक

  बिहिबार ०५, पुष २०८० ०६:३९

धनगढी । भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सुदुरपश्चिमका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जितेका छन्। च्याम्पीयनसीपमा दोस्रो स्थान हासिल गरेको नेपालका लागि सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले स्वर्ण पदक जितेका हुन्।

प्रतियोगितामा सहभागी भएका सुदुरपश्चिम प्रदेशका कुनै पनि खेलाडी पदक विहीन नभएको नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेश समितिले जनाएको छ। प्रतियोगितामा भारत पहिलो बन्दा नेपालले २८ स्वर्ण सहित दोस्रो स्थान हासिल गरेकोमा सुदुरपश्चिमका खेलाडीहरुले ७ स्वर्ण जितेका छन्।

नेपालबाट ७० जना खेलाडी सहभागी भएकोमा २८ स्वर्ण पदकमा सबैभन्दा बढी पदक सुदुरपश्चिमका ७ जना खेलाडीले जितेका हुन्। स्वर्ण पदक जित्ने सुदुरपश्चिमका खेलाडीहरुमा भुवन सार्की, पुर्णिमा भट्ट, हसिना राना, सोमु नेपाली, अनिष धामी, अस्मिता विक र दिपा राना रहेका छन्।

सुदुरपश्चिमबाट सहभागीता जनाएका ११ खेलाडीमध्ये ७ जनाले स्वर्णमाथि कब्जा जमाउँदा तीन जनाले रजत र एक जनाले कास्य पदक जितेको तेक्वान्दो प्रशिक्षक श्रीराम चौधरीले जानकारी दिए। उनका अनुसार भीम धामी, विकास चौधरी र साईरा खड्काले रजत पदक जित्दा क्षितिज चौधरीले कास्य पदक जितेका हुन्।

clock बिहिबार ०५, पुष २०८० ०६:३९

प्रतिक्रिया