कञ्चनपुरको भीमदत्तमा निकुञ्जका हात्तीको आतंक, स्थानिय त्रसित

  मङ्गलबार ०३, पुष २०८० १४:००

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्ती वस्तीमा पसेपछि स्थानिय बासिन्दा त्रसित बनेका छन्। दुई महिनादेखि निकुञ्जका हात्तीहरु राती बस्तीमा आएर स्थानीयको बालीनाली नोक्सान गर्दै घर भत्काउँन थालेपछि स्थानिय त्रसित बनेका हुन्।

भीमदत्त नगरपालिका १३ देखि १९ सम्म शुक्लाफाँटा निकुञ्ज किनारका सबै वस्तीमा दैनिक जसो हात्ती आउने गरेका छन्। हात्तीले स्थानीयको बालीनाली, तरकारी र कच्ची घर भत्काएको छ । भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले हात्तीको त्रासले निकुञ्ज किनारका वस्तीमा त्रास फैलिएको बताए।

अहिले वडा नम्बर १३ देखि किनारका सबै वडामा हात्ती दिनदिनै राति आउने गरेकोले त्रास बढेको बताए। हात्तीबाट कसरी जोगिने हो भन्ने समस्या र चिन्ता लागेको उनले बताएका छन्। भीमदत्त नगरपालिका कार्यपालिका सदस्य चक्र सुनारले हात्तीको त्रासले वासिन्दाको रातको निन्द्रा हराएको बताए। हात्ती कति बेला आएर नोक्सान गर्ने हो भनेर रातभरि सुत्न नपाएको उनले भने।

उनका अनुसार हात्तीले स्थानीयको गहुँबाली कुल्चेर नोक्सान गरि दिएको छ। शुक्लाफाँटाबाट राति तीन चार हात्ती एक साथ र अर्को हात्ती एक्लै वस्तीमा आउने गरेको स्थानीय बताएका छन्। एक्लै वस्तीमा आउने हात्ती पटाका पड्काउँदा पनि हलचल नगरी बस्ने गरेको कार्यपालिका सदस्य सुनारले बताए।

उनका अनुसार यो हात्ती आगो देखेपछि मात्रै भाग्ने गरेको छ। स्थानीले पटका पड्काएर, गाडीको आवाज निकालेर तथा आगो बालेर हात्तीलाई धपाउँदै आएका छन्। निकुञ्जबाट हात्ती आएपछि स्थानीयले निकुञ्ज कार्यालयमा पटक पटक जानकारी गराएका छन्। निकुञ्ज कार्यालयका कर्मचारी अहिलेसम्म वस्तीमा नआएको उनीहरुको गुनासो गरेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण गर्नका लागि मेसवायर तार जाली हाल्ने कार्यक्रम गरिने योजना रहेको जानकारी दिए।

clock मङ्गलबार ०३, पुष २०८० १४:००

प्रतिक्रिया