आइपिएलको खेलाडी अक्सन आज हुदै

  मङ्गलबार ०३, पुष २०८० ०६:४६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सन आज युएईको दुबईमा हुदै छ । आइपिएल अक्सन नेपाली समय अनुसार अपराहन्न १: १५ बजेदेखि शुरु हुने छ भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा हुने बताइएको छ ।

आज हुने आइपिएलको मिनी अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले जानकारी दिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

आइपिएल फ्रेन्चाईजीले कम्तिमा १८ र बढीमा २५ खेलाडी टिममा समावेश गर्न सक्ने नियम रहेको छ, जसमा विदेशी खेलाडी बढीमा ८ जनासम्म राख्न पाउछन् । यस अक्सनमा सबैभन्दा बढी कोलकोता नाइट राइडर्सको ४ विदेशी खेलाडीसहित १२ खेलाडी स्लट खाली रहेको छ । 

त्यस्तै दिल्ली क्यापिटल्सको ४ विदेशीसहित ९, गुजरात टाइटन्स, मुम्बई इण्डियन्स, पञ्जाव किंग्स र राजस्थान रोयल्सको ८/८ खेलाडीको स्लट बाँकी रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको ६/६ खेलाडीको स्लट बाँकी रहेको छ ।

त्यसैगरी खेलाडी किन्न सबै भन्दा बढी रकम भने गुजरात टाइटन्ससँग ३८.१५ करोड भारु रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादसँग ३४ र कोलकोतासँग ३२.७ करोड भारु रहेको छ । सबैभन्दा कम भने लखनउसँग १३.१५ करोड भारु रहेको छ ।

यस अक्सनमा विश्व क्रिकेटका केहि ठुला नाम भने रहेका छैनन् । जसमा इङल्याण्डका बेन स्टोक, जो रूट र जोफ्रा आर्चर, त्यस्तै बंगलादेशका शकिब अल हसन पनि यस आइपिएल अक्सनमा रहेका छैनन् । 

त्यस्तै हालै सम्पन्न क्रिकेट विश्वकपबाट उदाएका न्यूजील्याण्डका भारतीय मुलका अलराउण्डर रचिन रविन्द्र यस अक्सनका मुख्य आकर्षण बन्ने देखिएको छ । उनको न्यूनतम मुल्य ५० लाख भारु रहेको छ ।

यस अक्सनका लागि २३ खेलाडीले अक्सनको उच्च मुल्य २ करोड आफ्नो न्युनतम मुल्य तोकेका छन् । जसमा अस्ट्रेलियाका मिचेल स्टार्क, ट्राभिस हेड, भारतका बलर उमेस यादव र श्रदुल ठाकुर प्रमुख  रहेका छन् । त्यस्तै १३ खेलाडीले आफ्नो न्यूनतम मुल्य १.५ करोड तोकेका छन् ।      

परेनन् नेपाली खेलाडी

बिसीसीआईले जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

योसँगै नेपाली खेलाडीले आइपिएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन ।  

clock मङ्गलबार ०३, पुष २०८० ०६:४६

प्रतिक्रिया