एलपीएलः क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

  बुधबार २७, मङि्सर २०८० १८:०८

धनगढी । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधवार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्। समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्‍यो।   
आजको पहिलो खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित गर्‍यो। जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले ७ विकेट गुमाएर १८।५ ओभरमा पुरा गर्‍यो।

यस अघि टस जितेर ब्याटिंग गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट क्षतीमा १३१ रन बनायो। एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिदै प्लेयर अफ द म्याच घोषित भए। समुह ’डी’ बाट यस अघिनै तिन वटै खेलमा जितको साथ सत्यवती एकेडेमी समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। क्रिकेट एक्सीलेन्स सेन्टर दोश्रो चरण प्रवेश गर्न असफल रह्यो जसले ३ खेलमा २ जित र १ हार बेहोर्‍यो।

आजको दोश्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई २ रनले पराजित गर्‍यो। कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पुरै २० ओभर ब्याटिंग गर्दै १४७ रन बनायो। टस जितेर ब्याटिंग गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो।  उक्त खेलमा कैलालीका अभिषेक कुँवर प्लेयर अफ द म्याच घोषित भए। समुह ’बि’ बाट युथ अफ टिकापुर तिन वटै खेलमा जित दर्ता गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ। कैलाली मल्टिपल क्याम्पसले तिन खेलमा १ जित मात्र हात पार्न सक्यो भने शारदा सेकेण्डरी तिन वटै खेलमा पराजित भयो।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ। समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्। सेमीफाइनल पुग्ने अन्तिम टिमको टुंगो बुधवार धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीचको खेल पछि लाग्नेछ।

clock बुधबार २७, मङि्सर २०८० १८:०८

प्रतिक्रिया