एलपीएलः सत्यवती एकेडेमी सेमीफाइनलमा

  सोमबार २५, मङि्सर २०८० १८:३०

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिए)० को समुह ’डी’ को विजेताको रुपमा सत्यवती एकेडेमी अत्तरिया सेमीफाइनल प्रवेश गरेको छ। यसअघि समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह ‘बि’ बाट युथ अफ टीकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन्।

सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गरेको हो। सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाउन पुगेको थियो। 

एक्सिलेन्स सेन्टरको ब्याटिंगमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाएका थिए। सत्यवती एकेडेमीको बलिंगमा फिर्दोश अन्सारी र तृतराज दासले २/२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दिप क्षेत्रीले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो।

सत्यवतीका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए। ओपनिंग गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए। क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १/१ विकेट लिए। यसअघि पहिलो दिनको खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गरेको थियो।

जितका बाबजुद समुह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमीफाइनल प्रवेश गर्न असफल रह्यो। तिनवटै खेलमा जितको साथ समुह ‘सी’ को विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेको छ। लिटल फ्लावरले दिएको १३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १० रन खर्चिए। बिपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले २/२ विकेट लिए। टस जितेर ब्याटिंग गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो। लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए। अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए।

गरुडा नगरपालिकाको बलिंगमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले २र/२ विकेट लिए। प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्सबिच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमी बिच हुनेछ।

clock सोमबार २५, मङि्सर २०८० १८:३०

प्रतिक्रिया