बैतडीमा बिडिसिए कप क्रिकेट शनिवारदेखि सुरु हुने

  बुधबार १३, मङि्सर २०८० ०६:५३

बैतडी । बैतडीमा बिडिसिए कप क्रिकेट शनिवारदेखि सुरु हुने भएके छ। बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने कपको यो २० औं संस्करण हो।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा,पञ्चकोटी क्रिकेट क्लब र समूह ‘बी’मा निङ्गलासैनी क्रिकेट क्लब, कालाशैनी क्रिकेट क्लब, महामाया क्रिकेट क्लब रहेका छन्। यसैगरी समूह ‘सी’मा दशरथचन्द स्मृति प्रतिष्ठान,ग्वाल्लेक क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब समूह ‘डी’मा योङस्टार क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब रहेका छन्। 

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन खेलमा मंसिर १६ गते बिहान ९ बजे एनआरवाईसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब भिड्नेछन्। 

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

clock बुधबार १३, मङि्सर २०८० ०६:५३

प्रतिक्रिया