राष्ट्रिय महिला फुटबलको उपाधि अल स्टार्स स्पोर्टस धनगढीलाई

  आइतबार १०, मङि्सर २०८० ०६:३१

धनगढी । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बन्यो । 

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र)मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । च्याम्पियन बनेको धनगढीले ट्रफीसहित रु दुई लाख प्राप्त गरेको छ ।

उपविजेतामा सीमित रौतहटले रु एक लाखमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित रु २० हजार प्राप्त गरिन् ।

धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिडफिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए । 

यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही रु १०–१० हजार प्राप्त गरे ।  नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए ।

clock आइतबार १०, मङि्सर २०८० ०६:३१

प्रतिक्रिया