विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार

  मङ्गलबार ०५, मङि्सर २०८० २१:०८

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को खेलमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। 

मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २(० गोलको पराजय भोगेको हो।

यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो । दुवै गोल सब्सिच्युट खेलाडीले गर्दा दशरथ रंगशालामा उपस्थित १३ हजार ७ सय दर्शक स्तब्ध बनेका थिए। 

यमनका लागि ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे । उनले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई छक्काउँदै गरेको प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले रोक्न सकेनन्। 

खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे। दोस्रो हाफमा नेपालका हिसुब थपलियाले गोल गर्ने अवसर पाए पनि उनको प्रहारलाई यमनका गोलकिपरले रोकेका थिए। त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

clock मङ्गलबार ०५, मङि्सर २०८० २१:०८

प्रतिक्रिया