चाडपर्व अवधीमा सुदूरपश्चिमका २२ स्थानबाट १ सय ९७ जुवाडे पक्राउ

  सोमबार ०४, मङि्सर २०८० १५:१६

धनगढी। नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ पर्व अवधीभर सुदूरपश्चिममा १९७ जना जुवाडे पक्राउ परेका छन्। चाडपर्वका बेला जुवा तास नियन्त्रण गर्न अभियान नै चलाएको प्रहरी टोलीले सो अवधीमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १९७ जुवाडेलाई पक्राउ गरेको जनाएको हो ।

यस वर्षको दशैँ, तिहार तथा छठ पर्व अवधीमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ७ जिल्लाका २२ स्थानबाट जुवाडे पक्राउ परेका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार दशैँ, तिहार तथा छठ पर्व अवधीमा सबैभन्दा बढी कैलालीबाट जुवाडे पक्राउ परेका छन्।प्रदेश प्रहरी कार्यालयले प्रदेशभरचाडपर्व अवधीमा जुवा तास नियन्त्रण गर्न प्रदेशमा प्रहरी निगरानी गरिएको थियो।

सुराकी र सादा पोसाकका प्रहरी टोली परिचालन गरेर जुवा खेलिरहेका स्थानको पहिचान गरेर जुवाडेहरूलाई पक्राउ गरिएको जनाइएको छ।एक महिनाको अवधिमा कैलालीका ९ स्थानबाट ७० जुवाडे पक्राउ परेका हुन्। उनीहरुको साथबाट २३ गड्डी तास गड्डी र ५ लाख ३४ हजार ७०६ रुपैयाँ नगद बरामद भएको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्कमा उल्लेख छ । यस्तै कैलाली जिल्लापछि बढी जुवाडे पक्राउ परेको कञ्चनपुरका ५ स्थानबाट ५७ जना जुवाडे पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार जुवाखालबाट पक्राउ परेका उनीहरुबाट १२ गड्डी तास र ४ लाख ३१ हजार ८८४ रुपैयाँ बरामद गरिएको छ । यस्तै कैलाली कञ्चनपुर जिल्लापछि तेस्रो नम्बरमा बढी सङ्ख्यामा डडेल्धुरा जिल्लामा २७ जना जुवाडे पक्राउ परेका छन्। सो जिल्लामा दशैँ, तिहार तथा छठ पर्व अवधीमा ३ स्थानबाट २७ जना जुवाडे पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले १२ गड्डी तास र नगद ५१ हजार ५०४ रुपैयाँ बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रहरीले अछामका दुई स्थानबाट १६ जना जुवाडेलाई पक्राउ गरेर ६ गड्डी तास र ८६ हजार ८९० रुपैयाँ बरामद गरेको जनाएको छ। डोटीमा एकै स्थानबाट १२ जना जुवाडे पक्राउ परेका छन्। उनीहरुको साथबाट ३ गड्डी तास र नगद १ लाख ८४ हजार ६८० रुपैयाँ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै बाजुरामा एक स्थानबाट ८ जना जुवाडे पक्राउ परेका छन्। उनीहरुको साथबाट ३ गड्डी तास र नगद ४० हजार १४५ रुपैयाँ बरामद भएको छ । दार्चुलामा एक स्थानबाट ७ जना जुवाडे पक्राउ परेका छन्। ७ जना जुवाडेबाट ६ गड्डी तास र नगद ४३ हजार ३ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।सुदुरपश्चिममा १९७ जना जुवाडेलाई पक्राउ गर्दै १३ लाख ७३ हजार १०९ रुपैयाँ बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

clock सोमबार ०४, मङि्सर २०८० १५:१६

प्रतिक्रिया