डडेल्धुरको भागेश्वर माविले जग्गा भाडामा लिई व्यावसायिक पुष्प खेती

  सोमबार २७, कार्तिक २०८० १२:४७

डडेल्धुरा । उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यावसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ । पुष्प खेतीबाट विद्यालयसँगै विद्यार्थीहरुले  आम्दानी गर्न थालेका हुन् ।

भित्री मधेश जोगबुडा परशुराम नगरपालिका ४ स्थित कटालमा रहेको भागेश्वर माविले जग्गा भाडामा लिई व्यावसायिक पुष्प खेती गरेको छ । विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीका अनुसार प्राविधिक धारतर्फ चार वर्ष अगाडि मात्रै विद्यालयमा कक्षा ९ देखि १२ सम्मको कृषिबाली विज्ञानको अध्यापन सुरु भएको थियो ।

‘‘कृषि अध्ययन गरेर पनि फेरि पराम्परागत खेतीमै लाग्नुभन्दा केही नयाँ सुरु गरौं भनेर हामीले विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम गत वर्षदेखि सुरु गर्ने योजना बनायौं,’’ प्रधानाध्यापक अवस्थीले भन्नुभयो, ‘‘सोही कार्यक्रमअन्तर्गत लिजमा जग्गा लिएर गत वर्षदेखि फूलखेती सुरु गरेका छौं ।’’

विद्यालयका शिक्षक दुर्गादत्त पन्तका अनुसार प्राविधिक धारको कृषिबाली विज्ञानमा एउटा फ्लोरीकल्चर विषय छ । ‘‘सोही विषयको व्यावहारिक कक्षाका लागि सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत गत वर्षदेखि फूलखेती गर्न लागेका हौं,’’ उहाँले भन्नुभयो, ‘‘गत वर्ष डेढ रोपनीमा फूलखेती गरेका थियौं । झण्डै डेढ लाखको फूल धनगढी निर्यात गर्न सफल भयौं । यो वर्ष चार रोपनीमा सयपत्री फूलखेती गरेका छौं । ८ देखि १० क्विन्टलसम्म फूल बिक्री गर्न सकिन्छ भन्ने अनुमान छ ।’’

फूल बिक्री गरेबापत हुने आम्दानी विद्यार्थीलाई दिने गरेको शिक्षक पन्तले बताउनुभयो । ‘‘फूलखेती गर्दा लाग्ने लगानी कटौती गरेर विद्यार्थीलाई आम्दानीको ४० देखि ५० प्रतिशत रकम दिने गरेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘फूलखेती सुरु गरेर एकातर्फ व्यावहारिक शिक्षा पनि दिइरहेका छौं भने अर्कोतर्फ विद्यार्थीले केही रकम कमाइरहेका पनि छन् ।’’

विद्यार्थीको सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत तिहारका लागि सयपत्री फूलको अग्रिम बुकिङ पनि खुला गरिएको शिक्षक पन्तले बताउनुभयो । विगतका वर्षमा तिहारको समयमा सयपत्री फूल भारतबाट आयात हुँदै आएको थियो ।

तर यस वर्षको तिहारलाई लक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । गोरखापत्र अनलाइनबाट

clock सोमबार २७, कार्तिक २०८० १२:४७

प्रतिक्रिया