तीन महिनादेखि कैलालीको त्रिनगर नाकाबाट खाद्यान्न र तरकारीको आयात ठप्प

  आइतबार २६, कार्तिक २०८० ०६:४९

धनगढी। कैलालीको त्रिनगर नाकाबाट तीन महिनादेखि खाद्यान्न र तरकारीको आयात ठप्प भएको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात तीन महिनादेखि ठप्प भएको हो ।

सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात २८ साउनदेखि रोकिएको छ ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको थियो । तर, क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिएको छ ।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने गरेको थियो । कतिपय उपजको परीक्षण खाद्यले गथ्र्यो । केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको प्लान्ट क्वारेन्टाइन गड्डाचौकीका प्रमुख प्रमोद ठगुन्नाले बताए ।

प्लान्ट, खाद्य र पशु क्वारेन्टाइनलाई एकीकृत रूपमा सञ्चालन गर्न सरकारले देशभरका चारवटा टुर मुकाम कार्यालयमा सेवा बन्द गरेको थियो । ठगुन्नाका अनुसार त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गर्छ भने करिब तीन करोडको तेजपत्ता र पिना भारत निर्यात गरेको छ।

clock आइतबार २६, कार्तिक २०८० ०६:४९

प्रतिक्रिया