कैलालीमा पटाका, बिक्री र प्रयोगमा रोक

  शनिबार २५, कार्तिक २०८० १४:४३

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारमा पटका, आतिसबाजीजस्ता प्रज्वलनशील एवम् विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । 

यस्ता चिजका कारण दुर्घटना हुनसक्ने भएकाले प्रशासनले पटाका, आतिसबाजीजस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाएको हो । दिपावली, छठ र नेपाल सम्वतजस्ता पर्वहरु नेपाली संस्कृति र परम्परानुसार मनाउनु पर्नेमा प्रशासनले जोड दिएको छ । 

यसैगरी, मादक पदार्थलगायतका नशालु पदार्थ सेवनगरी पूर्वको समय सार्वजनिक स्थानमा होहल्ला झैझगडाजस्ता कार्य नगर्न आग्रह गरेको छ । देउँसी, भैलो, नाचगानलगायतका कार्यहरु बढीमा राति ९ बजेसम्ममात्र सभ्य, शान्तिपूर्वक तरिकाले गर्नुपर्ने प्रशासनले जनाएको छ । 

यस्तै, देउसीभैलीमा दक्षिणाको लागि रकम तोकेर दक्षिणा दिन दबाब दिन नपाइने र देउँसी भैलोलगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात एवम् जनजीवनलाई असर पुग्ने गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ । 

चाडपर्व मनाउँदा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति सुरक्षा प्रभावित हुनेगरी कानुनविपरितका अवाञ्छित गतिविधि गर्न गराउन नहुने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले शान्तिपूर्वक तरिकाले चाडपर्व मनाउनु सबैको जिम्मेवारी रहेको बताए ।  

clock शनिबार २५, कार्तिक २०८० १४:४३

प्रतिक्रिया