कैलालीमा खाद्यले सुरु गर्यो धान खरिद, सुदूरपश्चिममा ६० हजार क्विन्टल खरीद गर्ने

  शनिबार २५, कार्तिक २०८० १४:३६

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले कैलालीमा किसानको धान खरिद कार्य सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको जनाएको छ।

कम्पनीका प्रमुख इन्जिला बस्नेतले धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको बताइन्। कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको बताउँदै यो वर्ष गत वर्ष भन्दा एक महिनाअघिबाटै धान खरिद गरिरहेको उनले बताइन्। कम्पनीले गत वर्ष मङ्सिर १८ गतेबाट धान खरिदको कार्य थालेको थियो ।


किसानले गुजाराका लागि व्यापारीलाई व्यापारीकै मूल्यमा धान बिक्री गरेर सकेपछि बल्ल सरकारले धान खरिदको कार्य सुरु गर्ने गरेको गुनासो हरेक वर्ष सुनिँदै आएको छ । किसानको गुनासोलाई सम्बोधन गर्नका लागि कम्पनीले यो वर्ष विगतको तुलनामा महिना दिनअघिबाट धान खरिद गर्न थालेको हो। यस वर्ष कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँमा खरिद गरिरहेको छ।

सुदूरपश्चिमका लागि यस वर्ष धान खरिदको कोटा ६० हजार क्विन्टल रहेको बस्नेतले बताइन्। “चाँडै नै खरिदको कार्य सुरु भएकाले हामीले कोटा अनुसार धान खरिद गर्न सक्ने उनको दाबी छ । गत वर्ष ४० हजार क्विन्टल धान खरिद कोटा रहेकोमा कम्पनीले ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो । गोदाम खाली नरहेका अनुसार कोटानुसार धान खरिद नगरेको प्रमुख बस्नेतले बताइन् ।

कम्पनीले सिजनमा धान खरिद गरेर आवश्यक परेको बेला सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशमासमेत खाद्यान्न आपूर्ति गर्दै आएको छ । भजनीमा कात्तिक २२ गतेबाट कम्पनीले धान खरिद गरिरहेको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए । अनुसार सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लको राइस मिलमा धान खरिद केन्द्र सञ्चालन गरेर धान खरिदबिक्रीको कार्य भइरहेको उनले बताएका छन् ।

clock शनिबार २५, कार्तिक २०८० १४:३६

प्रतिक्रिया