बैतडीमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

  बिहिबार २३, कार्तिक २०८० १३:४०

बैतडी। बैतडीमा तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले चाडपर्वको बेला विभिन्न आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको जनाएको छ।

साथै देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन,म्याद नाघेका सामग्रीहरु विक्रि नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरुको विक्रि वितरण नगर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ।

यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ। यस्तै मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेमा कानुन अनुसार कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

चाडपर्वको बेला हुन सक्ने गैरकानुनी क्रियाकलाप रोक्नका लागि सुरक्षा योजना अनुसार काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।तिहारलाई संयमित भई हर्षोल्लासका साथ मनाउन समेत आग्रह गरिएको छ।

clock बिहिबार २३, कार्तिक २०८० १३:४०

प्रतिक्रिया